१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस-एमाले संयन्त्रबाट बाहिरिन्छौं: सभापति श्रेष्ठ

नेपाली कांग्रेस अर्घाखाँचीका जिल्ला सभापति केशव श्रेष्ठले नेकपा (एमाले) सँगको जिल्लास्तरीय राजनीतिक संयन्त्रबाट बाहिरिने चेतावनी दिएका छन्।

एमालेले संयन्त्रलाई भूमिकाविहीन बनाएको र कांग्रेसलाई ‘साक्षी’ मात्र राख्न खोजेको आरोप लगाउँदै उनले यस्तो औचित्यहीन संयन्त्रमा बसिरहनुको अर्थ नहुने स्पष्ट पारेका हुन्।

नेपाली कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई बुधबार सम्बोधन गर्दै सभापति श्रेष्ठले एमालेको एकलौटी कार्यशैलीका कारण संयन्त्रको औचित्य समाप्त भएको घोषणा गरे।

‘उहाँहरू एकलौटी ढंगले अघि बढ्नुहुन्छ, हामीले केवल साक्षी बस्नुपर्ने ? यस्तो अपमानजनक संयन्त्रमा बस्नुको औचित्य छैन,’ उनले भने, ‘हामी यस्तो संयन्त्रमा बस्दैनौं।’

केन्द्रीय तहबाट दुई पार्टीबीच समन्वय र सहकार्यका लागि संयन्त्र निर्माण गर्न निर्देशन दिइए पनि जिल्लामा एमालेले कांग्रेसलाई पूर्ण रूपमा बेवास्ता गरेको उनको आरोप छ। मुख्यमन्त्रीकै गृह जिल्लामा समेत कांग्रेसलाई उपेक्षा गरिएको भन्दै उनले यस्तो व्यवहार स्वीकार्य नहुने बताए।

सभापति श्रेष्ठका अनुसार एमालेले एकलौटी बैठक बस्ने, आफूखुसी योजनाहरू तर्जुमा गर्ने र प्रदेशमा बजेट विनियोजनका लागि आफ्ना मात्र आयोजनाहरू लैजाने प्रवृत्ति देखाएको छ। ‘हामीले पटक–पटक संयन्त्रको बैठक बोलाउन र संयुक्त रूपमा योजना छनोट गर्न आग्रह गर्‍यौं, तर एमालेले सुनुवाइ गरेन,’ उनले थपे।

अब चाँडै जिल्ला कार्यसमितिको बैठक बसेर संयन्त्रबाट औपचारिक रूपमै बाहिरिने निर्णय गरिने सभापति श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १० जेष्ठ २०८२ १५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App