नेपाली कांग्रेसका नेता एनपी साउदले राजनीतिक अस्थिरताका कारण मुलुकले समृद्धिको यात्रा तय गर्न नसकेको उल्लेख गर्दै राष्ट्रिय सहमतिका साथ निश्चित समयसम्म स्थिर सरकार बनाएर अघि बढ्नुपर्ने बताएका छन्।
सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्रले आज (शुक्रबार) आयोजना गरेको ‘वर्तमान राजनीतिक समस्या र समाधान’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन्।
नेता साउदले भने, ‘अहिलेको गतिरोधबाट अगाडि जान राष्ट्रिय सहमति चाहिन्छ। दुई तिहाइको सरकार बनेपनि मूलभूत काम गर्न सकेको छैनौँ, स्थिरता दिन सकिएको छैन। सबै दलका नेता एक ठाउँमा बसेर राष्ट्रिय सहमति कायम गर्नुपर्छ।’
पूर्वमन्त्री समेत रहेका साउदले विभिन्न नाममा व्यवस्थाका विरुद्धमा सडकमा आउने क्रम देखिएको जनाउँदै संविधान निर्माताले सबैलाई संविधानको दायराभित्र ल्याउने प्रयत्न गर्नुपर्नेमा जोड दिए। ठूलो मेहनतका साथ संविधानसभाबाट निर्मित संविधानको कार्यान्वयन राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने उनको भनाइ रहेको थियो।
प्रकाशित: ९ जेष्ठ २०८२ २०:१२ शुक्रबार





