२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

राजावादी आन्दोलनमा सहकार्यका लागि रास्वपालाई नवराज सुवेदीको पत्र

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सहकार्यका लागि प्रस्ताव गरेका छन्। सुवेदीले रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई पत्र नै पठाएर राजावादी आन्दोलनमा सहकार्यको प्रस्ताव गरेका हुन्।

रास्वपा पनि वर्तमान व्यवस्थासँग खुसी नभएको आफ्नो बुझाइ उल्लेख गर्दै सुवेदीले पत्रमा लेखेका छन्, 'तपाईंको पार्टीका सभापति रवि लामिछानेज्यूले पनि हालको व्यवस्थाअन्तर्गत निष्पक्ष न्याय पाउन सकिनेमा शङ्का व्यक्त गर्नुभएको तथ्य सर्वविदितै छ।'

वर्तमान व्यवस्था परिवर्तन आजको ऐतिहासिक कार्यभार रहेको समेत सुवेदीले पत्रमा उल्लेख गरेका छन्। वर्तमान व्यवस्थाले जनताको सुशासन र समृद्धिका अपेक्षा पूरा गर्न नसक्ने भन्दै उनले प्रस्ताव गरेका छन्, 'आउनुहोस्, यो चरम दलीयकरण र अव्यवस्थाको अन्त्य गरी राष्ट्रिय पहिचान, न्याय, धर्म र लोकतन्त्र पुनर्स्थापित गर्ने हाम्रो साझा लक्ष्यका लागि संयुक्त रूपमा अघि बढौँ। संवैधानिक राजसंस्था, सनातन हिन्दूराष्ट्र, बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गरौँ।'

त्यसो त रास्वपा गणतन्त्र र राजसंस्था दुबैको कित्तामा स्पष्ट नखुलेको पार्टी हो। आवश्यक परे निर्णय लिने तर, अहिले नबोल्ने भन्दै आएको रास्वपालाई सुवेदीले पत्रमार्फत राजावादी आन्दोलनका लागि सहकार्यको प्रस्ताव पठाएका हुन्।

कतिपय रास्वपा नेताहरूले आफ्नो तहबाट गणतन्त्रको पक्षमा वकालत गरिरहेका छन्। तर, रास्वपाले संस्थागत रूपमा भने बोलेको छैन। गणतन्त्रको पक्षमा नखुल्दा रास्वपाका प्रति आलोचना हुने गरेको छ।

जनआन्दोलन समितिले आउँदो जेठ १५ गते अनिश्चितकालीन आन्दोलन सुरु गर्दैछ। सुवेदीले त्यहीँबाटै सहकार्य सुरु गर्न प्रस्ताव पठाएका छन्। 

प्रकाशित: ७ जेष्ठ २०८२ १६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App