२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

अन्ततः गले ओली, राष्ट्र बैंकको १८ औँ गभर्नरमा पौडेल नियुक्त

सरकारको संकट घट्यो, अविश्वास मडारियो

सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच दुई महिना लामो रस्साकस्सीपछि नेपाल राष्ट्र बैंकले अन्ततः १८ औँ गभर्नर पाएको छ। मंगलबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्वनाथ पौडेललाई गभर्नर नियुक्त गरेको हो।  

मन्त्रिपरिषद् बैठकअघि उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको गभर्नर सिफारिस समितिको बैठक बसेको थियो। बैठकले पौडेलसहित राष्ट्र बैंककी डेपुटी गभर्नर डा.नीलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। जुन औपचारिकता मात्रै थियो।  

त्यसअघि बिहान प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिचको छलफलबाट पौडेलको नाममा मोहर लागिसकेको थियो। जसको साक्षी अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकसमेत थिए।  

दुई महिना लामो रस्साकस्सी  

निवर्तमान गभर्नर महाप्रसाद अधिकारी चैत २४ गते अवकासमा गएका थिए। नेपाल राष्ट्र बैंक ऐन, २०५८को दफा २५ अनुसार सामान्यतयाः गभर्नरको पद रिक्त हुनु एक महिना अगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने व्यवस्था छ।  

तर सरकारले ढिलो गरी चैत ११ गते अर्थमन्त्री पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पौडेल(जो अहिले गभर्नर नियुक्त भए) र पूर्व गभर्नर विजयनाथ भट्टराई सम्मिलित सिफारिस समिति बनाएको थियो।

सरकारले सिफारिस समिति बनाए पनि कांग्रेस र एमालेबिचमा गभर्नर भागबण्डामा कुरा नमिल्दा लामो समय सिफारिस समितिको बैठक नै बसेन।

प्रधानमन्त्री ओलीले आफू निकट डेपुटी गभर्नर ढुंगानालाई गभर्नर बनाउन चाहेका थिए। तर कांग्रेसले यसपटक गभर्नर छाड्न चाहेन। त्यसक्रममा विभिन्न नामहरु आउनेदेखि विवादित हुन क्रम चलिरह्यो।  

यसैक्रममा कांग्रेस सभापति देउवाले वैशाख ३ गते ओलीलाई भेटेर राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन नाम दिए। त्यसमा ओलीले सहमति पनि जनाए। सोही अनुसार भट्टले राष्ट्र बैंककी कायम मुकायम गभर्नरको जिम्मेवारी सम्हालेकी डेपुटी गभर्नर ढुंगानाले राजीनामा स्वीकृत नगरेर अड्काएर राखिन। राजीनामा स्वीकृत नहुनुमा प्रधानमन्त्री ओली र एमालेकै हात रहेको कांग्रेस नेताहरुले आरोप लगाउँदै आएका छन्।  

त्यतिबेलासम्म पनि गभर्नर सिफारिस समितिको बैठक नबोलाइएपछि सिफारिस समितिका सदस्य पूर्व गभर्नर भट्टराईले राजीनामा दिएका थिए। उनको ठाउँमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त गरिए।

वैशाखको पहिलो साता थाइल्यान्ड गएका सभापति देउवा एकसातापछि फर्किदा पनि भट्ट गभर्नर नियुक्त भएनन्। त्यसमा प्रधानमन्त्री ओलीले राजीनामा स्वीकृत नगरी अदालतमा मुद्दा पर्नसक्ने भन्दै देउवालाई थमथमाउँदै आएका थिए।  

वैशाख २६ गतेसम्म पनि भट्टलाई गभर्नर नियुक्त नगरेपछि देउवाले प्रधानमन्त्री ओलीलाई भेटेका थिए। उक्त भेटमा भने ओलीले प्रष्टै रुपमा देउवासँग भट्टको विकल्प मागे।  

त्यसपछि देउवाले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलको नाम लिएका थिए। जसमा ओलीले सहमति जनाए।  

आफ्नै नाम गभर्नरमा आएपछि पौडेलले वैशाख २८ गते सिफारिस समितिबाट राजीनामा दिए। उनको स्थानमा सरकारले अर्थविद् पोषनाथ पाण्डे सिफारिस समितिमा आए।  

त्यसपछि पनि गभर्नर नियुक्ति अघि बढेन। ओलीले देउवालाई थामथुम पारेर अल्झाइरहे। जसमा ओलीले सहजै गभर्नर कांग्रेसलाई दिन नचाहेको रुपमा अथ्र्याउन थालिएको थियो।  

केही दिन अघि प्रधानमन्त्री ओलीले ‘गभर्नरमा आफ्नो मान्छे कोही नभएको र मेरिटोक्रेसीका आधारमा योग्य मान्छे नियुक्त गर्ने’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए।  

त्यसबाट कांग्रेसवृत्त झस्कियो। तर सभापति देउवा भने सोमबारको मन्त्रिपरिषद् बैठकबाट पौडेल गभर्नर नियुक्त हुनेमा आशावादी थिए।  

तर सोमबार पनि गभर्नर सिफारिस समितिको बैठक बसेन। उल्टो नियमित मन्त्रिपरिषद् बैठक पनि अन्तिम घडीमा स्थगित गरियो। उल्टो मन्त्रिपरिषद् स्थगित गरेर प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवालाई भेटवार्ताका लागि बालुवाटार डाँके।  

त्यसपछि भने देउवा र कांग्रेसवृत्त झन् गम्भीर बन्यो। देउवाले बालुवाटार आउन इन्कार गरिदिए। सँगै उनले कांग्रेसका प्रभावशाली पदाधिकारी र नेताहरूसँग राति नै संवाद गरे। कांग्रेसवृत्तमा गभर्नर नपाए सरकार छाड्नेसम्मको छलफल चलेको थियो।  

त्यसपछि मंगलबार(आज) बिहान ओली र देउवाबिच भेटवार्ता भयो। सरकार नै ढल्नसक्ने खतरा देखिएपछि देउवाले भनेझैँ गभर्नर कांग्रेसले अघि सारेका पात्र पौडेललाई दिन तयार भए।

त्यहीँ अर्थमन्त्री पौडेल र गृहमन्त्री लेखक साक्षी बोलाइए। बैठकस्थलबाटै अर्थमन्त्री पौडेलले दुई महिनामा पहिलो पटक सिफारिस समितिको बैठक डाँके। त्यहीबाट प्रधानमन्त्री ओलीले अहिले साँझका लागि मन्त्रिपरिषद्को बैठक पनि बोलाए।  

त्यसपछि पनि सहमति कार्यान्वयन हुनेमा दिनभर सार्वजनिक आशंका कायम रहिरह्यो। साँझ चार बजे बसेको सिफारिस समिति बैठकले तीनजनाको नाम औपचारिक रुपमा सिफारिस गरेपछि साँझ नै पौडेल गभर्नर नियुक्त भएका छन्।  

लामो रस्साकस्सी र तिकडमबाजीपछि कांग्रेसले भनेझैँ गभर्नर नियुक्त भएपछि सरकारको संकट तत्कालका लागि थामिएको छ। तर गभर्नर प्रकरणले कांग्रेस–एमालेबिच विश्वासको संकट भने गम्भीर रुपमा उब्जाइसकेको छ।  

प्रकाशित: ६ जेष्ठ २०८२ १९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App