नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विभिन्न पार्टीहरूसँग पार्टी एकता प्रक्रिया सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएका छन्।
आइतबार (आज) दैलेखमा आयोजित पार्टीको बैठकलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।
विचार र राजनीतिक आधारमा टेकेर मात्र एकता गर्दा दीगो एकता सम्भव हुने उल्लेख गर्दै उनले भने, 'पार्टीको यथास्थितिमा परिवर्तन ल्याउने भनेको सङ्गठन रूपान्तरण गर्नु हो। विभिन्न पार्टीहरूसँग पार्टी एकताको प्रक्रिया सकारात्मक दिशातर्फ अघि बढेको छ।'
उनले पार्टीभित्र स्वस्थ बहस र छलफलको संस्कृति विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै 'स्वार्थ समूहको प्रभावमा पार्टीलाई अधोगतितर्फ लैजान नदिई सङ्गठनलाई लेनिनवादी सिद्धान्तअनुसार अगाडि बढाउनुपर्ने' धारणा पनि राखे।
फरक प्रसङ्गमा उनले आत्मनिर्भर समाजवादी अर्थतन्त्र निर्माणको खाका बनाइरहेको पनि बताएका छन्। 'हामीले गहिरो अध्ययन र अनुसन्धानमार्फत समाजवादी अर्थतन्त्रको ढाँचा निर्माण गर्न थालिसकेका छौँ। विज्ञ टोलीले त्यसमा कार्य गरिरहेको छ,' उनले भने।
प्रकाशित: ४ जेष्ठ २०८२ १९:४५ आइतबार