१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

भाजपा नेता जोली र यादवबीच भेटवार्ता

भारतीय जनता पार्टी (भाजपा) का नेता डा. विजय जोली र जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवबीच भेटवार्ता भएको छ। जोली र यादवबीच आइतबार (आज) काठमाडौंमा भेटवार्ता भएको हो।

भेटमा नेपाल-भारत र पार्टी टू पार्टी सम्बन्धका विविध आयामबारे छलफल भएको यादवले बताए।

यसबाहेक आफूले नेपालको राजनीतिक स्थायित्व कामय गर्न, नेपाली विद्यार्थीलाई आइटीको क्षेत्रमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पुर्‍याउन लगायतका विषयमा भारतको सहयोग आवश्यक पर्ने कुरा पनि गरेको उनले बताए।  

'भारतमा जस्तो नेपालमा जबसम्म राजनीतिक स्थायित्व हुँदैन, तबसम्म देशको विकास गाह्रो हुँदैन। त्यसको बारेमा पनि हामीले छलफल गर्‍यौँ। सकारात्मक छलफल भयो,' यादवले भने। जवाफमा जोलीले भारत नेपालकै साथमा रहेको बताएका थिए।

यादवले सुरुमा समवेदना दिएका थिए। गत २२ अप्रिलमा जम्मू-कश्मीरको पहलगाममा एक नेपाली युवासहित २८ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी हमलाको सन्दर्भलाई लिएर उनले समवेदना दिएका हुन्।

'नेपाल शान्तिप्रिय बुद्धको देश हुनाले जहिले पनि शान्तिको पक्षमा छौँ भनेँ। उहाँले सहर्ष स्वीकार गरेर धन्यवाद भन्नुभयो,' उनले भने, 'हामीले जहिल्यै शान्तिको पक्षमा छौँ।'

जोलीले यसअघि उपप्रधानसहित सहरी विकासमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग भेट गरिसकेका छन्।

भारतले गत ६ मार्चमा पहलगाम घटना घटाउने आतङ्कवादी समूहका विरुद्ध 'अपरेशन सिन्दूर' नामक जवाफी कारबाही गरिसकेको छ। यसमा नेपाल भारतको कित्तामा उभिएको थियो। जोली त्यसकै लागि 'धन्यवाद सन्देश' लिएर आएको बताइन्छ।

अपरेशन सिन्दूरअघि मात्रै भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले पनि नेपाल आएर फर्किएका थिए। 

प्रकाशित: ४ जेष्ठ २०८२ १७:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App