नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज)कै आधारमा एमाले देशको प्रमुख राजनीतिक शक्ति बनेको बताएका छन्।
मदन आश्रित स्मृति दिवसका अवसरमा आज पार्टीको पूर्वमुख्यालयमा आयोजित कार्यक्रममा उनले तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा विकसित जबजकै कारण २०५१ मा एमाले संसद्को सबैभन्दा ठूलो दल बनेको उल्लेख गरे।
‘एमाले त्यसयता निरन्तर राष्ट्रिय राजनीतिको निर्णायक शक्तिका रूपमा रहनुमा जबजको मुख्य योगदान छ,’ उनले भने। निरङ्कुश राजतन्त्रको अन्त्य र जातीय भड्काउ तथा हिंसात्मक नीतिहरूलाई परास्त गर्न पनि जबजले सहयोग गरेको उनको भनाइ छ।
पार्टीमाथिको प्रतिबन्धलगायत विभिन्न चुनौती सामना गर्दै एमाले अघि बढिरहेको उनले बताए। ‘विसं २०५४ को पार्टी विभाजन, संविधानसभाको चुनावमा कमजोर नतिजा र दोस्रो पटकको पार्टी विभाजनबाट पार्टीलाई उठाएर अघि बढाउन जबजले मार्गदर्शन गरेको छ,’ उनले भने।
मदन भण्डारी र एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रित २०५० जेठ ३ मा पोखराबाट चितवन जाँदै गर्दा दासढुङ्गामा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका थिए। रासस
प्रकाशित: ३ जेष्ठ २०८२ १३:३५ शनिबार