नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।
यस अवसरमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बल्खुको मदन नगरमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण र स्मृतिसभा हुने कार्यक्रम छ। एमाले पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाइ गरेका थिए।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि खुलेको तत्कालीन सो पार्टीले राजधानीको बागबजारमा नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो। पछि यो कार्यालय बल्खुमा सारिएको थियो।
विसं २०७२ को भूकम्पले कार्यालयमा क्षति पुगेपछि प्रयोग गर्न नसकिने भएर भत्काइएको थियो। उक्त परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा छ। त्यसपछि एमाले कार्यालय कहिले धूम्रबाराही त कहिले थापाथली सारियो।
हाल एमाले केन्द्रीय कार्यालय च्यासलको तुल्सीलाल स्मृति प्रतिष्ठानमा छ। मदन–आश्रित स्मृति दिवसमा भने बल्खुको सो कार्यालय र त्यहाँको मदन भण्डारीको प्रतिमाले विशेष महत्त्व पाउँछ। रासस
प्रकाशित: ३ जेष्ठ २०८२ ०८:०३ शनिबार





