राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उपाध्यक्ष बुद्धिमान तामाङले निजामती कर्मचारीलाई ट्रेड युनियन अधिकार दिन नहुने भन्दै फरक मत राखेका छन्।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद तामाङले फरक मत राखेका हुन्।
‘निजामती सेवा ऐन, २०४९ संशोधन विधेयकका सवालमा राज्य व्यवस्था समितिबाट निजामती कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार दिने गरी समितिले विधेयकको प्रावधान पारित गरेकोमा उक्त प्रावधानप्रति मेरो यो लिखित फरक मत रहेको छ,’ तामाङले भनेका छन्।
उनले निजामती वा अन्य जुनसुकै पनि राज्य कोषबाट तलब, सेवा, सुविधा प्राप्त गर्ने कर्मचारी वा राष्ट्र सेवकहरू राज्यका सम्पत्ति रहेको बताएका छन्।
उनले अगाडि भनेका छन्, ‘बहुदलवादमा आधारित शासन व्यवस्थामा उनीहरूलाई आम नागरिक सरह मताधिकारको अधिकारी हुन्छ । तर, उनीहरू कुनै राजनीतिक दल, समूह वा विचार समूहका होइनन् र हुन सक्दैनन्।’
जनताको सेवा भावसहित राष्ट्रको सेवामा समर्पित रहने अंग वा निकायले देश, जनता र सरकारलाई नै अफ्ठेरोमा पार्ने गरी राज्यको सेवा सुविधा लिएर राज्य र सरकारकै नीति नियमविरुद्ध हुने गरी सौदाबाजी गर्ने गरी ट्रेड युनियन खोल्ने अधिकारी दिन नहुने उनको तर्क छ।
‘त्यसले देश र जनताको हितमा सरकारले अघि सारेका नीति तथा नियमको कार्यान्वयन गर्नुपर्ने अंग आफ्नो स्वार्थ पुरा गर्ने ध्याउन्नमा मात्र केन्द्रित हुनेछ,’ उनको फरक मतमा भनिएको छ, ‘देश र जनताको स्वार्थ मात्र होइन आफ्नो विचार समूह वा दल सत्तामा रहँदा वा नहुँदा उनीहरूको कार्यसम्पादनमा फरक पर्नेछ । त्यसले राष्ट्रको हित गर्दैन र हुँदैन ।’
निजामती कर्मचारी वा अन्यका ट्रेड युनियनहरू राजनीतिक दलहरूका भ्रातृ संगठन जस्तो देखिने र सबै निकायमा अति राजनीतिकरण भइरहेका बेला जनतामा अब केही हुन्छ भन्ने आशा र विश्वास जगाउनु पर्ने अहिलेको अवस्थामा ट्रेड युनियन अधिकार दिने कुराले थप निराशा जगाउने तामाङको मत छ। यसले सरकार तथा राज्यप्रति जनताको विश्वासलाई थप कमजोर बनाउने पनि उनको टिप्पणी छ।
सरकारसँग मागसहित सौदाबाजीका लागि ट्रेड युनियन अधिकार दिने कुराले नीति निर्माणमा प्रत्यक्ष रूपमा जोडिने उनीहरूले देश, जनता र सरकारलाई होइन आफूलाई केन्द्रमा राख्ने तामाङको अर्को तर्क छ।
‘तसर्थ राजनीतिक दल वा विचार समूहको आधारमा भ्रातृ संगठनको काम गर्ने गरी ट्रेड युनियन खोल्ने अधिकार दिने निर्णयप्रति मेरो विमति रहेको छ,’ तामाङले फरक मतमा भनेका छन्।
प्रकाशित: २ जेष्ठ २०८२ १८:४२ शुक्रबार





