८ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

कम्युनिस्ट आन्दोलनको औचित्य अझै सशक्त, बृहत् एकताका लागि माओवादीको पहल जारी: भुसाल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले नेपालमा कम्युनिस्ट आन्दोलनको औचित्य र आवश्यकता अझ बढेको तर्क गर्दै समाजवादी लक्ष्य प्राप्तिका लागि बृहत् वामपन्थी एकता अपरिहार्य रहेको बताएकी छन्।

उनले समाजवादी मोर्चामा रहेका दलहरूसँगको एकता प्रक्रिया जारी रहेको र केही दलहरूसँग तत्कालै एकता हुनसक्ने संकेत गरिन्।

बुधबार साँझ नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै नेतृ भुसालले भनिन्, ‘जबसम्म समाजमा वर्ग रहन्छ, तबसम्म वर्गसंघर्ष रहन्छ र आ-आफ्नो वर्गको पार्टी हुन्छ। सर्वहारा वर्गको सबैभन्दा उच्च चेतना र क्रान्तिकारी पार्टी कम्युनिस्ट पार्टी हो, र साम्यवादमा नपुगेसम्म यसको आवश्यकता रहिरहन्छ।’

उनले कम्युनिस्ट पार्टीले नै सबै वर्गको अन्त्य गर्दै वर्गविहीन समाज निर्माणको नेतृत्व गर्ने विचार व्यक्त गरिन्।

समाजवादी मोर्चामा रहेका दलहरूसँगको एकता प्रयासबारे सोधिएको प्रश्नमा उनले केही दलहरूसँग तत्कालै एकता हुने सम्भावना रहेको र केहीसँग भने समय लिएर अघि बढ्नुपर्ने अवस्था रहेको सुनाइन्।

‘हाम्रो पार्टी कमजोर हुनुको एउटा कारण माओवादीको टुटफुट पनि हो। त्यसलाई जोड्नुपर्छ भन्नेमा हामी छौँ,’ उनले भनिन्।

एमालेलगायतका दलहरूसँगको एकताका लागि महाधिवेशनसम्म कुर्नुपर्ने र बीचमा सहकार्यलाई नै जोड दिइने उनको भनाइ थियो। उनले एकीकृत समाजवादीसँग पनि विचार-विमर्श, छलफल र भावनात्मक एकता बढाउँदै अघि बढ्ने बताइन्।

विगतमा डा. बाबुराम भट्टराई, विप्लवलगायतका नेताहरू पार्टीबाट बाहिरिनुको कारणबारे उनले पहिलो संविधानसभाताका शान्ति र विद्रोहको कार्यदिशामा देखिएको केही अस्पष्टता र बुझाइमा भिन्नता रहेको उल्लेख गरिन्। डा. भट्टराईको सन्दर्भमा भने उनले कम्युनिस्ट पार्टीको औचित्य नै नरहेको सोच र चिन्तनमा परिवर्तन आएपछि पार्टीको केही नलाग्ने टिप्पणी गरिन्।

पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिइएको विषयलाई दाहालको विकल्पका रूपमा हेर्न नहुने उनको भनाइ थियो। ‘उहाँ (पुन) प्रचण्डको नेतृत्वमा भएको आन्दोलनको एक महत्वपूर्ण हस्ती हो, विशेषगरी सैन्य मोर्चामा। उहाँ आफ्नो ऊर्जा परिवर्तनको बाँकी कार्यभार पूरा गर्न र समाजवाद-साम्यवादको लक्ष्यमा लगाउन पार्टीमा फर्कनुभएको हो,’ नेतृ भुसालले स्पष्ट पारिन्।

उनले माओवादी केन्द्र अन्य पार्टीभन्दा फरक रहेको, जहाँ नेतृत्व परिवर्तन आवधिक महाधिवेशन र मतले मात्र नभई विचार र कार्यदिशाले निर्धारण गर्ने दाबी गरिन्।

‘यथास्थितिको कार्यदिशा लागू गर्ने र देशलाई निरंकुशताबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याउने नेतृत्व एउटै हुन सक्दैन,’ उनले भनिन्, ‘अझै देशलाई समाजवादतिर लानुपर्छ भन्ने नेता र चार वर्षमा महाधिवेशन गरेर को हुने भन्ने कुराले मात्र नेतृत्व निर्धारण हुँदैन।’

प्रकाशित: ३१ वैशाख २०८२ २१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App