२९ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘प्रचण्ड संकट मोचक र दूरदर्शी नेता, पार्टी र राष्ट्रकै लागि अपरिहार्य’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष पम्फा भुसालले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई जनयुद्धदेखि गणतन्त्र स्थापना र संविधान निर्माणसम्मका ऐतिहासिक परिवर्तनहरूको नेतृत्वकर्ताको रुपमा चिनाएकी छन्।

भुसालले  दाहाललाई राष्ट्रिय संकटका बेला अग्रसरता लिने दूरदर्शी नेताको रूपमा चित्रण गर्दै दाहालको विकल्प हाल पार्टी र राष्ट्रिय राजनीतिमै नरहेको दाबी गरिन्। उनले दाहालको नेतृत्व वर्ग संघर्ष, पार्टीभित्रको अन्तरसंघर्ष र राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको उपज भएको बताइन्।

बुधबार साँझ नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा ‘पार्टीमा प्रचण्डको विकल्प छैन?’ भन्ने प्रश्नको जवाफ दिँदै नेतृ भुसालले भनिन्, ‘हाम्रो अध्यक्ष विगत ३५-३६ वर्षदेखि जनयुद्ध जस्तो जटिल, ‘न भूतो न भविष्यति’ प्रकृतिको आन्दोलनको नेतृत्व गरेर आउनुभएको हो। उहाँले पार्टीभित्रका अनेकौं उतारचढाव र अन्तर्विरोधहरूलाई सफलतापूर्वक हल गर्नुभएको छ।’

उनले राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संघीयता, समानुपातिक समावेशिताजस्ता असम्भव ठानिएका परिवर्तनहरू दाहालकै नेतृत्वमा सम्भव भएको जिकिर गरिन्।

नेतृ भुसालले भनिन्, ‘कसैले नपत्याएको नेपालमा राजतन्त्र जान्छ, गणतन्त्र आउँछ, एकात्मकता जान्छ, संघीयता आउँछ भन्ने कुरा कसैलाई विश्वास थिएन। गणतन्त्रलाई ‘बयलगाडा चढेर अमेरिका पुग्ने’ जस्तै भनी टिप्पणी गर्नेहरू नै पछि गणतन्त्रवादी बन्न बाध्य भए। यसको नेतृत्व गर्ने त प्रचण्ड नै हो।’

उनले दोस्रो संविधानसभामा पार्टी सानो हुँदा पनि संविधान निर्माणका लागि दाहालले खेलेको भूमिका र संविधान जारीपछिको कार्यान्वयनमा देखाएको अग्रसरता महत्वपूर्ण रहेको बताइन्।

‘जतिबेला देश एकदम अप्ठ्यारो, शून्यता वा संकटमा हुन्छ, त्यो बेला पहलकदमी लिने, देशलाई गति दिने र सकारात्मक नेतृत्व दिने भनेको त प्रचण्ड हो,’ नेतृ भुसालले थपिन्, ‘त्यसैले प्रचण्ड हाम्रो पार्टीको मात्र नेता होइन, आन्दोलनले नै उहाँलाई त्यो प्राधिकार दिएको छ।’ 

उनले माओवादीमा अन्य पार्टीहरूमा जस्तो केवल नेतृत्व वा चुनावको मात्र नभई कार्यदिशा र विचारको बहस हुने र एक्काइसौं शताब्दीको नेपाली मौलिकताको समाजवादको कार्यदिशा प्रस्तुत गर्ने नेता नै आगामी दिनमा नेतृत्वमा आउने बताइन्। तर, वर्तमान सन्दर्भमा दाहालको दूरदर्शिता, संकट मोचन क्षमता र परिवर्तनकारी भूमिका अतुलनीय रहेको उनको निष्कर्ष थियो।

प्रकाशित: ३१ वैशाख २०८२ २१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App