१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

‘आ बाट आमा-२’ ले ल्यायो नयाँ अनुहार, रिश्ता नायिकामा अनुबन्धित

गत वर्ष प्रदर्शनमा आएको निर्देशक चन्द्र पन्तको चलचित्र ‘आ बाट आमा’ को सफलतापछि निर्माण टिमले यसको सिक्वेल ‘आ बाट आमा २’ निर्माण गर्ने तयारी गरेको छ।  

पोस्टर सार्वजनिक गरिसकिएको र प्रदर्शन मिति घोषणा भइसकेको यस चलचित्रले फेरि एक नयाँ कलाकारलाई नेपाली चलचित्र क्षेत्रमा प्रवेश गराउने भएको छ।

गत वर्ष माघ १६ गतेदेखि प्रदर्शनमा आएको ‘आ बाट आमा’ व्यावसायिक रूपमा सफल बनेको थियो। चलचित्रले करिब १४ करोड रुपैयाँको व्यापार गर्दै दर्शकबाट राम्रो प्रतिक्रिया पाएको थियो। यसै चलचित्रमार्फत सामाजिक सञ्जाल टिकटकबाट चर्चित बनेकी उषा उप्रेती र कथावाचकका रूपमा परिचित साईग्रेस पोखरेलले ठूलो पर्दामा डेब्यू गरेका थिए।

अब ‘आ बाट आमा २’ ले पनि नयाँ प्रतिभालाई अवसर दिएको छ। निर्माण टिमले आगामी दशैँलाई लक्षित गर्दै सिक्वेलको घोषणा गरिसकेको छ। यस क्रममा ‘मेरो डान्स युनिभर्स–२’ की विजेता रिश्ता गुरुङ चलचित्रमा नायिकाका रूपमा अनुबन्धित भएकी छन्। पत्रकार सम्मेलनमार्फत निर्माण टिमले उनको औपचारिक परिचय गराएको हो।

यसअघि नै चलचित्रका लागि पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साईग्रेस पोखरेल, गजित विष्ट र नरेन खड्का अनुबन्धित भइसकेका छन्। निर्माण पक्षका अनुसार चलचित्रको अमेरिका र क्यानडाको प्रदर्शन अधिकारसमेत अग्रिम रूपमा बिक्री भइसकेको छ।

चलचित्रको कथा तथा पटकथा निर्देशक चन्द्र पन्त स्वयंले लेखेका हुन्। ‘आ बाट आमा २’ आगामी असोज ३० गते, अर्थात् दशैँको फूलपातीको अवसर पारेर देशभर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण टिमले जनाएको छ।

प्रकाशित: १६ जेष्ठ २०८३ १६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App