जनमत पार्टीका अध्यक्ष तथा संघीय सांसद डा. सीके राउतले संघीय सरकारले गर्दै आएका विकास निर्माणसम्बन्धी सम्पूर्ण कार्यहरु प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न र बलियो बनाउन यस्तो प्रस्ताव अघि सारेको बताए।
अध्यक्ष राउतले संघीय सरकारले सानातिना र खुद्रा विकास निर्माणका काम आफैं गर्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए।
"अब विकास कार्य हस्तान्तरणको सिद्धान्तलाई अवलम्बन गर्नुपर्दछ। यो फलानोको घरदेखि ढिस्कानोको घरसम्म ढलान बनाउने काम संघीय सरकारको होइन," उनले भने, "विकास निर्माणका सबै कामहरु प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्छ। केन्द्र सरकारले उनीहरुसँग सहकार्य र समन्वय गर्ने मात्र हो, आफैं कार्यान्वयन गर्ने होइन।"
स्थानीय स्तरका सडक, ढलानजस्ता विकास निर्माणका कार्य संघीय सरकारको कार्यक्षेत्रभित्र नपर्ने उनको तर्क थियो।
आगामी बजेटमा विकास निर्माणका कार्य पूर्णरूपमा हस्तान्तरण गर्ने सिद्धान्तलाई आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याउँदै डा. राउतले ‘जनता आवास कार्यक्रम’ को प्रभावकारितामाथि समेत प्रश्न उठाए।
उक्त कार्यक्रमले विपन्न वर्गलाई सहयोग गर्नुको सट्टा विस्थापित बनाएको उनको आरोप थियो। सरकारले ल्याउने बजेटले जनताका वास्तविक समस्यालाई सम्बोधन गर्नुपर्नेमा उनले विशेष जोड दिए।
प्रकाशित: ३१ वैशाख २०८२ १६:१७ बुधबार