१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन: प्रधानमन्त्री ओली

<br>

प्रधानमन्त्री केपी शर्मा ओलीले ओरालो लागेको अर्थतन्त्रमा ब्रेक लगाइसकिएको र अब यो त्रिशूलीमा खस्ने अवस्थाबाट जोगिएको बताएका छन्।

मंगलबार बालुवाटारमा आयोजित ‘सिनेपा’ अत्याधुनिक इन्डोर छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोषण समारोहमा बोल्दै उनले नेपाली चलचित्र क्षेत्रका लागि यो परियोजना क्रान्तिकारी हुने दाबी गरे।

“हामीले ओरालो लागेको अर्थतन्त्रलाई लयमा ल्याएका छौँ। अब यो अर्थतन्त्रको गाडी त्रिशूलीमा खस्दैन। सिने क्षेत्रप्रति हामी सधैँ सकारात्मक र सहयोगी छौँ,” उनले भने।

काभ्रेको बनेपामा निर्माण हुने ‘सिनेपा’ स्टुडियोले नेपाली चलचित्र उद्योगमा युग परिवर्तन ल्याउने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा यो परियोजनाको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनका कारण काम अवरुद्ध भएको स्मरण गरे। “त्यसबेला जस्तो अहिले ढुकुटीमा पैसा छैन। तर, थालेका काम हामी पूरा गर्छौँ। यसका लागि बजेट विनियोजन हुन्छ। थालेपछि सफल हुन्छ,” उनले थपे। उनले छ दशकदेखि उठ्दै आएको यो माग अब साकार हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा उनले बालाजुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिनाको विषयमा सञ्चारमन्त्री र सचिवलाई हप्ता–दश दिनभित्र छानबिन प्रतिवेदन पेस गर्न निर्देशन दिए। “जग्गा हिनामिना भएको छ भने कानुनी कारबाही हुन्छ,” उनले भने।

प्रधानमन्त्रीले राजनीतिलाई अभिनय होइन, यथार्थमा बदल्ने साधनका रूपमा प्रयोग गरेको बताउँदै सिने क्षेत्रको विकासमा सरकारको प्रतिबद्धता दोहोर्‍याए।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागी थिए।

प्रकाशित: ३० वैशाख २०८२ १७:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App