नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले बजेट दलाल पुँजीपतिहरूको स्वार्थमा केन्द्रित भएर आउने आशङ्का व्यक्त गरेका छन्।
मङ्गलबार (आज) बजेटका सिद्धान्त तथा प्राथमिकतामाथिको संसद्को छलफलमा भाग लिँदै ज्वालाले यस्तो आशङ्का व्यक्त गरेका हुन्।
'नीति तथा कार्यक्रम र प्राथमिकतालाई हेरियो भने कतै भोलि आउने बजेट फेरि पनि दलालहरू, भूमाफियाहरू, बिचौलियाहरू, कालाबजारियाहरू अर्थात् टोटालिटीमा दलाल पुँजीपतिहरूको स्वार्थमा केन्द्रित भएर आउने आशङ्का गर्न सकिन्छ। त्यसकारण यो सिद्धान्त र प्राथमिकताहरू हेरियो भने जनता र भुइँमान्छेको पक्षमा आउने विश्वास गर्न गाह्रो हुन्छ,' उनले भने।
उनले नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त तथा प्राथमिकता हेर्दा विकासमुखी बजेट आउनेमा विश्वस्त हुन नसकिने बताए।
'बजेटका मूलत: प्राथमिकताहरू बजेट कस्तो आउँछ भन्ने एउटा ढाँचा, गाइडलाइन र ओरिन्टेसन हुनुपर्ने हो। यो ओरिन्टेसनमा बजेट आउँछ, हाम्रा प्राथमिकताहरू क्याटागोरिकल्ली यी यी हुन्, यस हिसाबले सिद्धान्त र प्राथमिकता आउनुपर्थ्यो, त्यसरी क्वालिफाई भएन र एउटा सामान्य, फेरि पनि कर्मकाण्डी र ल्याउनैपर्ने हो भन्ने हिसाबले ल्याइएको छ। फेरि पनि प्राथमिकताहरू हेर्दाखेरि जतालाई उत्साह, ऊर्जा दिने खालको र बजेटचाहिँ यो मार्गदर्शनमा जनमुखी, जनपक्षीय र विकासमुखी आउँछ, उत्पादकत्व र रोजगारी सृजना गर्ने खालको आउँछ भन्ने खालको देखिँदैन,' उनले भने।
प्रकाशित: ३० वैशाख २०८२ १६:०२ मंगलबार