प्रधानमन्त्री केपी शर्मा ओलीले गोरखाको पालुङटारमा सिने सिटी निर्माण गर्ने प्रस्ताव अघि सारेका छन्।
मंगलबार काठमाडौंमा आयोजित चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोषण समारोहमा बोल्दै उनले नेपालको सिनेमा उद्योगको विकासका लागि प्राकृतिक सुन्दरताले भरिपूर्ण पालुङटार उपयुक्त गन्तव्य हुने बताए।
प्रधानमन्त्री ओलीले पालुङटारको भौगोलिक र प्राकृतिक विशेषताको प्रशंसा गर्दै मर्स्याङ्दी नदी, हिमशृंखलाहरू र रमणीय दृश्यहरूले सिनेमा छायांकनका लागि आदर्श वातावरण प्रदान गर्ने उल्लेख गरे।
“त्यहाँ एउटा सानो हाम फाल्ने पुल बनाऊँ। हिरोइन रिसाएर कुद्दै गएर मर्स्याङ्दीमा हाम फाल्छिन्। बहादुर हिरो उडेर गएर जम्प गर्दा पनि त्यहाँ खतरा हुँदैन। त्यसकारण बहुत खतरनाक ठाउँमा उसले हाम फाल्छ र हिरोइनलाई बचाउँछ। पालुङटारमा सिने सिटी बनायौँ भने माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश हिमालदेखि लाङटाङसम्मका हिमशृंखलाहरू पृष्ठभूमिमा देखिन्छन्। मर्स्याङ्दी नदीमा हिरो–हिरोइनको दृश्य खिच्दा दर्शक दंग पर्छन्,” उनले भने।
उनले नदीलाई ‘रिभर ट्रेनिङ’ मार्फत छायांकनमैत्री बनाउन सकिने र डाँडा, रेलमार्ग तथा अन्य संरचनाले सिनेमालाई थप आकर्षक बनाउने विचार व्यक्त गरे।
उनले पालुङटार नजिकैको बन्दिपुर, डुम्रे, भानुभक्त र लेखनाथको जन्मस्थल तथा फेवाताल, बेगनास ताल, सराङकोट र पञ्चासेजस्ता पर्यटकीय गन्तव्यहरूको उपयोगले सिनेमा उद्योगलाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउन सकिने बताए। “यी ठाउँमा गीत, दृश्य र कथावस्तुले सिनेमालाई जीवन्त बनाउँछ। विश्वभरका फिल्ममेकरहरू नेपाल आउनेछन्,” उनले थपे।
प्रधानमन्त्रीले नेपालमा रेल नयाँ कुरा नभएको भन्दै जनकपुरमा सञ्चालित रेल सेवाको उदाहरण दिए। उनले साहित्य, संस्कृति र प्राकृतिक सौन्दर्यको संयोजनले पालुङटार सिने सिटीले नेपाली सिनेमा उद्योगमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
यसअघि सिने जगतले म्याग्नेसाइट उद्योग नजिक सिने सिटी बनाउने प्रयास गरेको भए पनि उक्त स्थानमा प्राकृतिक चुनौतीहरू रहेको उनले उल्लेख गरे। पालुङटारमा प्रस्तावित सिने सिटीले ती समस्याहरू समाधान गर्न सक्ने उनको भनाइ छ।
प्रकाशित: ३० वैशाख २०८२ १५:२७ मंगलबार





