१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रले लोकमार्ग केन्द्रित अभियान सुरु गर्ने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानअन्तर्गत पोखरामा आगामी जेठ १० गते जनसभा गर्ने भएको छ। जेठ २ गते बैतडीको पाटनबाट सुरु हुने उक्त अभियान जेठ ८ गते लुम्बिनी प्रदेशको पूर्वी रूकुम हुँदै गण्डकी प्रदेशको बागलुङ प्रवेश गर्ने सो पार्टीले जनाएको छ।

जेठ ८ र ९ गते गरी बागलुङका तीन स्थानमा जनसंवाद कार्यक्रम तय गरिएको माओवादी केन्द्र बागलुङले जनाएको छ। पहिलो दिन बुर्तिबाङ र गलकोटमा जनसंवाद कार्यक्रम हुने माओवादी केन्द्रका जिल्ला संयोजक राजीव घिमिरेले जानकारी दिए।

अभियानका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरू जनभेटघाट, अन्तरक्रियालगायत कार्यक्रममा सहभागी हुने जनाइएको छ। सहिद, बेपत्ता र घाइतेजनका परिवारलाई पनि भेट्ने कार्यक्रम तय भएको संयोजक घिमिरेले बताए।

माओवादी केन्द्रले लोकमार्गका प्रत्येक प्रदेशमा एक–एक वटा जनसभा र प्रत्येक जिल्लामा कम्तीमा एक–एक अन्तरसंवाद गर्नेगरी अभियानको तयारी गरेको हो। उक्त अभियान जेठ महिनाभर चल्न सो पार्टीले जनाएको छ।

प्रकाशित: ३० वैशाख २०८२ ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App