लुम्बिनी प्रदेशका नेकपा (एमाले) का सांसद विष्णु प्रसाद पन्थीले आफूविरुद्ध पक्राउ पुर्जी जारी भएकोबारे केही थाहा नभएको बताएका छन्।
गौतमबुद्ध हाइड्रोपावर प्रालिले पल्लवी इलेक्ट्रा प्रालिको बक्यौता भुक्तानी नगरेको व्यापारिक लेनदेन मुद्दामा पक्राउ पुर्जी जारी भएपछि पनि पक्राउ नपरेका उनी अहिले प्रहरीको फरार सूचीमा छन्।
उनीविरुद्ध जिल्ला अदालत मोरङबाट २०८१ जेठ ३२ पक्राउ पुर्जी जारी भएको थियो। तर, प्रहरीले अहिलेसम्म उक्त पुर्जीको कार्यान्वयन गरेको छैन।
उनी आज मात्रै लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै कार्यक्रममा सहभागी थिए। यसबारे जिज्ञासा राख्दा नागरिकसँग पन्थीले भने- पक्राउ पुर्जी जारी भएकोबारे मलाई केही थाहा छैन। हिजो मात्रै मिडियाबाट थाहा पाउँदैछ।
उनले आवश्यक परे अनुसन्धानमा सघाउने बताउँछन्। 'कानूनबाट भाग्न कसले सक्छ र ? आवश्यक परेको खण्डमा म अनुसन्धानमा सघाउन तयार छु,' उनले भने।
सांसद पन्थीले सत्ताको आडमा उन्मुक्ति पाइरहेको भन्दै आलोचना बढिरहेको छ। प्रधानमन्त्रीसँगै एउटै मञ्चमा रहनुले त्यो आलोचनालाई अझ बलियो बनाइदिएको छ।
प्रकाशित: २९ वैशाख २०८२ १८:५५ सोमबार





