१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

‘भ्रामक सूचनाले समाज भाँडिएको छ, छिट्टै नियमन गर्छाैं’

<br>

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रामक सूचनाले समाजमा अराजकता निम्त्याइरहेको भन्दै यसलाई नियमन गर्न सञ्चारसम्बन्धी विधेयक छिट्टै कानुनका रूपमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन।

सोमबार सुर्खेतमा हुलाक निर्देशनालयको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन्।

मन्त्री गुरुङले हुलाक सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउन समयसान्दर्भिक हुलाक सेवा ऐन ल्याउने तयारी भइरहेको जानकारी दिए।

“हुलाक सेवा पुरानै ढर्रामा चलिरहेको छ, अब यसको नीति परिवर्तन गरी सङ्घीयताको मर्मअनुसार आधुनिक रूपमा सञ्चालन गर्न ऐन ड्राफ्ट गरिरहेका छौँ,” उनले भने।

पुरानो कानुनले सङ्घीय गणतन्त्रमा प्रभावकारी सेवा दिन नसक्ने उल्लेख गर्दै उनले राजा महेन्द्रको पालाको ऐनले वर्तमान आवश्यकता पूरा नहुने स्पष्ट पारे।

“कानुन पुरानो छ, तर परिवर्तनको अपेक्षा गरिन्छ। यति वर्षमा कति सरकार फेरिए, तर नयाँ ऐन बनाउने हेक्का किन राखिएन ?” उनले प्रश्न गरे।

विकासका काममा अध्ययन र औचित्यविनाको प्रवृत्तिले राज्यको खर्बौं रकम खेर गइरहेको मन्त्री गुरुङको भनाइ छ। “बसाइँसराइ शहरकेन्द्रित छ, प्रविधिको विकास तीव्र छ, तर सनकमा आधारित विकासका कामले नोक्सान भएको छ। विकास आवश्यकता र औचित्यमा आधारित हुनुपर्छ,” उनले भने।

प्रकाशित: २९ वैशाख २०८२ १६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App