सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशका सञ्चार संस्था बलियो बनाउन र मातृभाषामा समाचार प्रवाह गर्नाले सङ्घीयताको मर्मलाई व्यवहारमा लागू गर्न सहयोग पुग्ने बताएका छन्।
नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्यूरोले सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटन र रेडियो नेपालको कर्णाली प्रदेश प्रसारण केन्द्रबाट खस भाषामा समाचार सुरु गर्दै मन्त्री गुरुङले यो समाचारले कर्णालीको मौलिकता झल्काउने विश्वास व्यक्त गरेका हुन्।
‘हामी लोकतान्त्रिक प्रणालीमा छौँ। जनताको सूचना पहुँच सुनिश्चित गर्न सरकार गम्भीर छ। प्रदेशमा सञ्चारका संरचना बनाउनु त्यसैको हिस्सा हो,’ मन्त्री गुरुङले भने, “‘मातृभाषामा सञ्चार हुनु भनेको नागरिक र राज्यबीचको सम्बन्ध बलियो हुनु हो, यसले राष्ट्रिय एकता मजबुत बनाउँछ।’
कर्णालीको विकासमा सङ्घ सरकारले प्रदेश सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री गुरुङले सञ्चार माध्यमले भाषा र संस्कृतिको संरक्षण गर्दै राष्ट्रिय एकता बलियो बनाउन सक्रिय भएको बताए।
रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचार समिति (रासस) ले जनतालाई केन्द्रमा राखेर काम गरेको उनको भनाइ थियाे। यी सञ्चार माध्यमले समृद्धि र सुशासन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए। सार्वजनिक सेवा प्रसारण नेपाललाई प्रभावकारी बनाउन सूचना दिने पहिलो दायित्व भएको उनले उल्लेख गरे।
नेपाल टेलिभिजनलाई विश्वसामु पुर्याउन यसै वर्षदेखि अङ्ग्रेजी भाषामा प्रसारण गर्ने तयारी भएको उनले जानकारी दिए। कर्णालीको डिजिटल प्रदेश योजनामा सङ्घ सरकारले सहयोग गर्ने उनले बताए। खस भाषामा समाचार सुरु हुनु कर्णालीको भाषा, संस्कृति र सञ्चार पहुँच बलियो बनाउन ऐतिहासिक कदम भएको उनको भनाइ छ।
मातृभाषामा समाचार र सञ्चारको समावेशीकरणले लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले यस्ता रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास र समृद्धि सबैको साझा विषय भएको बताए। कर्णालीलाई विकट मात्र होइन, सम्भावना र विकासको क्षेत्रका रूपमा प्रचार गर्न सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण भएको उनले बताए। ‘हामी कर्णाली बनाउन लागिरहेका छौँ। कर्णालीको विकास र समृद्धिका लागि सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण छ,’ उनले भने।
रेडियो नेपालको सुर्खेत प्रसारण केन्द्रबाट खस भाषामा समाचार र कार्यक्रम सुरु भएको छ। हरेक दिन साँझ ५:०५ देखि ५:१५ सम्म खस भाषामा समाचार प्रसारण हुनेछ।
यससँगै रेडियो नेपालबाट २६ भाषामा समाचार प्रसारण हुने भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले खस भाषाको संरक्षण र प्रवर्द्धनका लागि यो कदम चालिएको बताए। नेपाल टेलिभिजनको कर्णाली ब्यूरोले प्रदेश केन्द्रित समाचार र कार्यक्रम उत्पादनमा सहयोग पुग्ने र सार्वजनिक सेवा प्रसारणलाई प्रभावकारी बनाउने उनको भनाइ छ। रासस
प्रकाशित: २९ वैशाख २०८२ १२:५९ सोमबार





