१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्व शान्ति र विकासको खोजीमा रहेको जनाउँदै गौतमबुद्धको दिव्य ज्ञानलाई अँगाल्दै अगाडि बढेमा शान्ति र समृद्धि प्राप्त हुने बताएका छन्।

पच्चीस सय ६९ औँ बुद्धजयन्तीको अवसरमा आज यहाँ शुभकामना सन्देश जारी गर्दै उनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मजयन्तीको यस अवसरमा शान्ति र अहिंसाको माध्यमबाट विकास र समृद्धिको पथमा लम्किरहेका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

उनले आज विश्व शान्ति र अहिंसाको खोजीमा रहेको चर्चा गर्दै सुन्दर, विशाल र शान्त भूमिमा जन्मिएर गौतमबुद्धले देखाएको सत्मार्गलाई आत्मसात् गरेर अघि बढ्न सके संसार शान्तिको बाटोमा उभिन सक्ने विश्वास व्यक्त गरेका छन्।

उनका दिव्य ज्ञानलाई विश्वका कुनाकुनामा फैलाउन सके नेपालको मात्र होइन, विश्वकै उन्नति र प्रगति हुने आशा व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले शान्तिका प्रतीकका रूपमा रहेका महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु र यहाँबाट हामीले शान्तिको सन्देश विश्वभर फैलाउन सक्नु हाम्रो गौरवको विषय भएको उल्लेख गरेका छन्।

उनले नेपाल बहुजाति, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक रहेको स्मरण गर्दै यो विविधता बीचमा बुद्धले हुर्काएको बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति भएको बताएका छन्। बुद्धको दर्शनलाई हामीले संसारभर फैलाउँदै समृद्धिको यात्रालाई बल पुर्याउन सकिने भन्दै मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा यो दिनले धार्मिक, सामाजिक  तथा आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ र सबल बनाउन सक्ने उल्लेख गरेका छन्।

प्रकाशित: २९ वैशाख २०८२ ०९:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App