प्रधानमन्त्री केपी शर्मा ओलीले दुनियाँमा दुईवटा वाद रहेको बताएका छन्। आइतबार (आज) राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्।
'दुनियाँमा दुईवटा वाद छन्, दुईवटा चिज छन् भनौँ। एउटा मान्छे, अर्को पुँजी। एउटा मान्छेवाद, अर्को पुँजीवाद। मान्छेलाई केन्द्र बनाएर चल्ने व्यवस्था, प्रणाली, अर्थतन्त्र र राजनीति कि पुँजीलाई केन्द्र मानेर चल्ने नीति, राजनीति, अर्थतन्त्र; केचाहिँ हो भन्ने कुरामा हामीले समाजवाद भनेका छौँ,' उनले भने।
उनले नेपालको संविधानले समाजवादतर्फ अगाडि जाने भनेर समाजवादउन्मुख भनेको स्मरण पनि उनले गराए। 'समाजवाद, डेमोक्रेटिक सिस्टम समाजवादका चरित्रहरू, गुणहरू लोकतान्त्रिक प्रणालीका हिसाबले मूलत: आइसकेका छन्। तर, अर्थतन्त्र, आर्थिक अवस्था, आर्थिक उन्नतिको हिसाबले सामाजिक न्याय र समानताको व्यावहारिक कार्यान्वयनको हिसाबले समाजवादउन्मुख हुँदै जाने, त्यसलाई कार्यान्वयन गर्ने कुरा हो,' उनले भने।
उनले नेपालमा अहिल्यै समाजवाद लागू हुन नसक्ने पनि बताए। बीस प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै उनले भने, 'तिनीहरूको न्यूनतम आवश्यकताको परिपूर्तिको अवस्था पनि नबनाइकन, तिनीहरूको आर्थिक उत्थान नगरिकन, तिनीहरूको जीवन जिउनेसम्मको स्थिति नबनाइकन यो कुनै जादु त हामीसँग छैन कि एकैचोटी गरिहालौँ। त्यसकारण त्यो गराउने दिशातर्फ हामी अग्रसर भएका छौँ।'
प्रकाशित: २८ वैशाख २०८२ १५:५८ आइतबार





