प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बाघको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको उल्लेख गर्दै अब यसको संख्यामा थप वृद्धि गर्नुभन्दा सन्तुलित व्यवस्थापनमा जोड दिनुपर्ने बताएका छन्।
शनिबार वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले बाघको संख्या वृद्धिका कारण मानव–बाघ द्वन्द्व बढ्न सक्ने चेतावनी दिए।
प्रधानमन्त्री ओलीले बाघ संरक्षणको महत्व स्वीकार्दै यसको अत्यधिक वृद्धिले पारिस्थितिक सन्तुलन र मानव सुरक्षामा चुनौती थपिने बताए।
“अब बाघको संख्या बढाउन सकिँदैन, मिल्दैन। भन्या थिएँ। धेरै वटा आयो। बा, तपाईंका कुरा सबै त मनपर्छ, यो बाघको संख्या बढाउनु हुँदैन भन्याचाहिँ बुझ्दै नबुझिकन कमेन्ट दिएको दिएकै केटाकेटीहरूले। यो बाघ भन्या चाहिँ के हुन्छ भने फोटोमा हेर्दा बडा गजब हुन्छ, सामनेमा पर्यो भने बस। बाघ भनेको एउटा क्षेत्रपति जात हो। उसले आफ्नो सिमाना लगाउँछ।। त्यो क्षेत्र पुगेन भने बाघहरूका बीचमा लडाइँ हुने र मारामार हुने अवस्था बन्छ।,” उनले भने।
उनले बाघले कानुनी किताब नपढ्ने भन्दै भोक लागेका बाघबाट मानव बस्तीमा खतरा बढ्ने जोखिम औंल्याए।
नेपालले सन् २०१० मा बाघको संख्या दोब्बर गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गरेको उल्लेख गर्दै उनले भने, “हामीले १० वर्षमा १२१ बाट ३५५ बाघ पुर्यायौं, जुन दोब्बरभन्दा बढी हो। तर, अब गाउँमा हिँड्दा बाघ भेटिने डर बढेको छ।”
उनले वन छेउका बासिन्दाले यो जोखिम प्रत्यक्ष भोगिरहेको बताए।
प्रधानमन्त्रीले बाघ संरक्षणलाई भावनात्मक र विरोधका लागि मात्र नभई वातावरण र मानवजातिको हितमा सन्तुलित रूपमा लिनुपर्नेमा जोड दिए। “वातावरण संरक्षण मानवजातिका लागि हो। मानवले नै विनाश गरेको वातावरण मानवले नै बचाउनुपर्छ,” उनले भने।
उनले बाघको फोटोमा रमाउनु र वास्तविक जीवनमा सामना गर्नु फरक भएको उल्लेख गर्दै संरक्षणमा यथार्थवादी दृष्टिकोण अपनाउन आग्रह गरे।
प्रकाशित: २७ वैशाख २०८२ १५:२० शनिबार