सत्तारूढ नेपाली कांग्रेसले एमालेसँगको १० महिना लामो सत्ता साझेदारीका विषयमा समीक्षा गरेको छ। एमाले नेतृत्वको वर्तमान सरकारका विषयमा विभिन्न आशंका व्यक्त भइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान आफ्नै निवास पदाधिकारी बैठक राखेर सरकारको कामको समीक्षा गरेका हुन्।
एमालेसँगको पूर्वसहमतिअनुसार अघि बढ्न आफूहरू तयार रहेको जनाउँदै कांग्र्रेस सभापति देउवाले सत्ता गठबन्धनमा पार्टीका तर्फबाट समस्या नरहेको बताएका छन्। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा माओवादी केन्द्रका अध्यक्ष दाहालले जस्तै छाडेर गए भने कांग्रेसको केही नलाग्ने पदाधिकारी बैठकमा देउवाले बताएको एक सहभागीले जानकारी दिए।
प्रधानमन्त्री ओलीले अहिलेसम्म गठबन्धनलाई निरन्तरता दिँदै २०८४ सालको निर्वाचनसम्म सँगै जाने बताएको पनि देउवाले पदाधिकारीलाई सुनाएका थिए। तर केही पदाधिकारीले गठबन्धनका विषयमा बाहिर निकै आशंका व्यक्त भइरहेको बताएका थिए।
राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भएको विलम्बले शंका गर्नेलाई बल पुर्याएको तर्क गरेका थिए। त्यसपछि गृहमन्त्री रमेश लेखकले राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर गठबन्धनमा समस्या भएको भन्ने हल्ला सत्य नभएको बताएका थिए।
प्रधानमन्त्री ओलीसहित एमाले नेताहरूसँग बिहीबार साँझ नै त्यस विषयमा सहमति भइसकेको जानकारी गराएका थिए। बैठकमा सत्ता गठबन्धनका साथै राष्ट्र बैंकको गभर्नर, सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन, भारत–पाकिस्तानबिचको द्वन्द्व, संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिसहितका विषयमा छलफल भएको थियो।
यसैबिच प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। सरकारका विषयमा अनेकन् चर्चा भइरहेका बेला दाहालले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा समसामयिक परिस्थितिबारे छलफल भएको दाहालको सचिवालयले जनाएको छ।
प्रकाशित: २७ वैशाख २०८२ ०६:५९ शनिबार