प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले नेपालमा ८५ प्रतिशतभन्दा बढी जनता हिन्दूराष्ट्रको पक्षमा रहेको दाबी गरेका छन्।
शुक्रबार (आज) बसेको संसद् बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
'म आग्रह गर्न चाहन्छु, जनताको नाममा मनपरी गर्न पाइँदैन। त्यो अधिकार हामीसँग छैन। जनमत के थियो ? त्यो जनमत खोल्नुपर्छ। जतिबेला संविधान दस्ताबेजका रूपमा जारी गर्यौँ, त्यो कुरा स्वीकारेका थिएनौँ तर, पार्टीको निर्देशनलाई मान्नुपर्छ भन्ने लाग्यो, त्यसकारण त्यो आफ्नो विचारलाई पनि थाँती राखेर संविधान जारी गर्ने कुरामा सहभागिता जनाएका थियौँ,' भण्डारीले भने, '८५ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूराष्ट्र चाहिन्छ भन्ने जनमत थियो। जनताको मतविपरीत धर्मनिरपेक्षता बनाइएको छ।'
उनले पार्टी देश र जनताको तुलनामा गौण रहेको बताए। 'देश हो देश, जनता हो जनता, पार्टी भनेको कुरा गौण कुरा हो। पार्टीभन्दा माथि देश हुन्छ, पार्टीभन्दा माथि जनता हुन्छ। ८५ प्रतिशत जनताले हिन्दूराष्ट्र चाहिन्छ भनेका छन्। यो जनमतको आधारमा संविधान संशोधन गरौँ,' उनले भने।
उनले संविधान सभाबाट संविधान जारी हुनेबेला जनमत बटुलिएको र खासगरी कांग्रेसभित्र सङ्घीयताको पक्षमा नेताहरू नरहेको पनि उनले बताए।
'हामीले संविधान बनाएका छौँ, संविधान बनाउँदा म पनि संविधान सभा सदस्य थिएँ। त्यो संविधान जारी गर्दा जनमत लिइएको थियो। म आज भन्छु, यो सरकार गठन गर्दा पनि मेरो पार्टी कांग्रेससहित ठूलो अर्को दल एमालेसहित सरकार बनेको छ। यो सरकारको प्रतिबद्धता संविधान संशोधन हो। अब जनताको धारणाअनुरूप संविधान संशोधन गर्नुपर्छ,' उनले भने।
प्रकाशित: २६ वैशाख २०८२ १६:५४ शुक्रबार