१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

‘दर्शनभेट’ले जुराएको राजावादी गठबन्धन

जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

पत्रकार सम्मेलनमा बायाँबाट केशरबहादुर विष्ट, राजेन्द्र लिङ्देन, नवराज सुवेदी र कमल थापा ।

राजावादी राजनीतिक दल र शक्तिहरू अन्ततः पूर्वपञ्च नेता नवराज सुवेदीकै नेतृत्वमा आएका छन्। बिहीबार पत्रकार सम्मेलन गरेर राजावादी सबै शक्ति एकै ठाउँमा देखिएका हुन्।

पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपाल पार्टीका अध्यक्ष केशरबहादुर विष्ट, नेपाली कांग्रेस (बिपी) देखि विभिन्न हिन्दुवादी र राजावादी शक्तिका प्रतिनिधिहरू उपस्थित थिए।

पूर्वराजा ज्ञानेन्द्र शाहले संयुक्त जनआन्दोलन समितिका संयोजक बनाएका सुवेदीले पत्रकार सम्मेलनमै  राजावादी शक्तिबिच एकताको  घोषणा गरे। ‘यो आन्दोलनको संयोजन र परिचालन वरिष्ठ राजनीतिज्ञ नवराज सुवेदीको संयोजकत्वमा गठित संयुक्त जनआन्दोलन समितिमार्फत हुनेछ,’ सुवेदीले भने, ‘हामी सबै दल र समूह संयुक्त यो समितिमा आबद्ध रही आन्दोलन सफल पार्ने संकल्प गर्छौं।’

सुवेदीले जेठ १५ गते गणतन्त्र दिवसकै अवसर पारेर देशमा संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र पुनर्बहालीका लागि अनिश्चितकालीन आन्दोलनको घोषणा गरे।

उनले भने, ‘संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिका लागि सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दर्छौैं।’

आन्दोलन शान्तिपूर्ण हुने उनले बताए। ‘भद्र–अवज्ञा र सत्याग्रह आन्दोलनका स्वरूप हुनेछन्,’ सुवेदीले भने।

तीनबुँदे माग, समझदारीको अपेक्षा

राजावादीहरूले पत्रकार सम्मेलन गरी तीन सूत्रीय माग पनि जारी गरेका छन्। मागको पहिलो बुँदामा ‘सबै विचारधारा र शक्ति अटाउने संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको स्थापना’ गर्ने भनिएको छ। दोस्रो माग सर्वधर्म, समभाव, पूर्ण धर्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको स्थापना र तेस्रो माग केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यताअनुरूप अहिलेको भन्दा बढी अधिकारसम्पन्न स्थानीय सरकार स्थापना गर्नुपर्ने भनिएको छ।

पत्रकार सम्मेलनमा सुवेदीले राजनीतिक दलसँग सहमति र समझदारीको अपेक्षा पनि गरे। ‘हाम्रो घोषणा राजनीतिक दलहरूले चाहने हो भने उपरोक्त उद्देश्यहरू सहमति र समझदारीकै आधारमा वर्तमान संविधानकै परिधिबाट हासिल हुन्छ,’ उनले भने।

उनले यो आन्दोलन कुनै दल र सरकारविरुद्ध नभएको टिप्पणी गर्दै भने भने, ‘निरंकुशता र सर्वसत्तावादको अन्त्य गरी जनतामानिहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिक रूपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य ध्येय हो।’

सुवेदीले राजा र जनताबिचको ‘एकताको धागो षड्यन्त्रपूर्वक चुँडाइएको’ दाबी पनि गरे।

ज्ञानेन्द्रसँग टाढिएका लिङ्देन–थापा तीनकुने घटनापछि ट्विस्ट

यसअघि संवैधानिक राजसंस्था पुनर्बहालीका लागि आन्दोलन गर्न भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले संयुक्त जनआन्दोलन समिति बनाउन लगाएका थिए। समितिकोे संयोजक पूर्वपञ्च सुवेदी तोकिएका थिए।पूर्वराजाकै सुझावअनुसार सुवेदी संयोजक बन्दा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र सदस्यसचिव बनेका थिए भने महामन्त्री धवलशमशेर राणा पनि सोही समितिमा जोडिएका थिए। यो समिति बन्दा त्यसको हर्ताकर्ता विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं थिए।

 त्यसबेला समिति बनाउँदा राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष थापालाई निर्मल निवासकै सक्रियतामा ‘बाइपास’ गरिएको थियो। यसको पृष्ठभूमि थाहा पाउन पुराना घटनाक्रममा फर्किनुपर्ने हुन्छ। गणतन्त्र स्थापनापछि राजतन्त्र/राजसंस्थाको अजेन्डा बोक्ने राष्ट्रिय राजनीतिको परिचित एकमात्र पात्र अहिलेको राप्रपा नेपालका अध्यक्ष कमल थापा थिए।

२०७२ सालमा संविधानसभाबाट संविधान जारी भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएकै कारण थापासँग पूर्वराजा शाह रिसाएका थिए। उनले त्यो रिस २०७८ मंसिरमा भएको राप्रपाको महाधिवेशनमा निकाले। महाधिवेशनमा पार्टी अध्यक्षमा लिङ्देनलाई उतारेर आफूलाई हराउनुमा निर्मल निवासकै हात रहेको स्वयं थापाले बताउँदै आएका छन्। त्यही कारण उनले रिसाएर राप्रपा छाडेका थिए।

ज्ञानेन्द्रको त्यही रिस २०७९ को निर्वाचनपछि भने लिङ्देनमाथि दोहोरियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा लिङ्देन सहभागी भएपछि ज्ञानेन्द्र असन्तुष्ट बनेका थिए। जसको फाइदा विवादित व्यवसायी दुर्गा प्रसाईंले उठाए।

लिङ्देनसँग रिस देखाउनकै लागि २०७९ फागुनमा प्रसाईंले झापामा गरेको एक कार्यक्रममा ज्ञानेन्द्र सपरिवार उपस्थित भए। त्यसरी रिसाएका ज्ञानेन्द्रलाई मनाउन लिङ्देन सरकार छाडेलगत्तै राप्रपाका नेता बोकेर झापामै भेट्न पुगेका थिए ।

तर ज्ञानेन्द्र भने थापा र लिङ्देन दुवैसँग असन्तुष्ट थिए। जसको झल्को सुवेदी नेतृत्वको समिति गठन गर्दा देखिएको थियो। राजावादी स्रोतकै अनुसार यता सुवेदी, प्रसाईं, मिश्र, राणालगायतले ज्ञानेन्द्रसँग भेट पाउँदा लिङ्देनले पाएका थिएनन्। लिङ्देन र थापा आपूmरूलाई बाइपास गरेर सुवेदीको संयोजकत्वमा समिति बन्दा असन्तुष्ट बनेका थिए। लिङ्देनले आफ्नै पार्टी राप्रपाको नेतृत्वमै आन्दोलन गर्ने बताउन थाले। उनले पार्टीका नेतामाथि पनि रणनीतिक तवरले कडाइ गर्न थाले। थापा भने लिङ्देन दरबारविरुद्ध लागेजस्तो देखेपछि सुवेदी नेतृत्वको समितिको पक्षमा बोल्न थाले। सुवेदी नेतृत्वको समितिका हर्ताकर्ता प्रसाईंले पनि लिङ्देन र थापाविरुद्ध उही स्वरमा आवाज दिइरहेका थिए।

यसैबीचमा चैत १४ गते ज्ञानेन्द्रले सुवेदी र प्रसाईंलाई निर्मल निबास डाँकेर छुट्टाछुट्टै भेटे। लिङ्देन र थापालाई निम्तो आएन। चैत १५ गते तीनकुनेमा हिंसात्मक आन्दोलन भयो। जसको कमान्डर निर्मल निवासकै आदेशमा प्रसाईं तोकिएका थिए। त्यो आन्दोलनमा लिङ्देन र थापा सहभागी भएनन्। तीनकुनेको हिंसापछि ज्ञानेन्द्रका विश्वासपात्र प्रसाईं, मिश्र, राणालगायत प्रहरी हिरासतमा पुगे। संयोजक सुवेदी अघोषित नजरबन्दमा परे।

ज्ञानेन्द्रले पत्याएका नेताहरू नै थुनिएपछि राजावादी आन्दोलन लगभग तुहियो। त्यसपछि बल्ल ज्ञानेन्द्रको नजरमा लिङ्देन र थापा पर्न थालेको घटनाक्रमले देखाउँछ। वैशाखको पहिलो साता ज्ञानेन्द्रले लिङ्देनसहित राप्रपाका ‘सात भाइ’ नेतालाई निर्मल निवास डाँकेर ‘लञ्च मिटिङ’ गरे। त्यो भेटमा ज्ञानेन्द्रले राजावादी शक्तिबिच एकता नभएको गुनासो गर्दै लिङ्देनमाथि दबाब बढाएका थिए।

थापाको चतुर्‍याइँ

लिङ्देन पार्टी राजनीति र राजावादी शक्तिहरूबिच एक्लो भएका बेला वैशाख १५ गते राप्रपा नेपालका अध्यक्ष थापाले चतुर्‍याइँपूर्वक ‘रत्नपार्क भेला’ गरे। रत्नपार्कमा सबैजसो राजावादी शक्तिलाई उतारेर उनले लिङ्देनलाई समेत आमन्त्रण गरे। त्यही सभामा थापाले चतुर्‍याइँपूर्वक लिङ्देनले अस्वीकार गरेका संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीलाई ‘नेता’ स्वीकार्नुपर्ने प्रस्ताव गरे। त्यो प्रस्तावलाई थापाले निर्मल निवासमा सकारात्मक सुनिने र आफूप्रतिको धारणामा परिवर्तन आउने अस्त्रका रूपमा प्रयोग गरे।

‘कुनै स्वार्थ नभएका, ...श्रद्धेय व्यक्तित्व नवराज सुवेदी संयोजन गर्न आउनुभएको छ। यद्यपि व्यक्ति र पात्रका बारेमा बहस गर्न सकिने अवस्था हुन्थ्यो,’ थापाले त्यो दिन भनेका थिए, ‘अब जेसुकै भए पनि विशिष्ट परिस्थितिमा उहाँ संयोजक भएर आउनुभएको छ।’

त्यो प्रस्ताव अस्वीकार गर्न लिङ्देनलाई गाह्रो थियो। त्यही प्रस्तावले नै बिहीबार सबै राजावादी शक्तिलाई सुवेदीको छत्रछायामा आउने वातावरण बनाएको हो।

यसरी सुवेदी नेतृत्वमा सबै राजावादीलाई गोलबद्ध हुने वातावरण बनाएका राप्रपा नेपालका अध्यक्ष थापालाई पनि ज्ञानेन्द्रले पछिल्लो समय ‘दर्शन भेट’ दिइसकेका छन्। ज्ञानेन्द्रको दर्शनभेट पाएर हौसिएका थापा बिहीबारको पत्रकार सम्मेलनमा चर्को सुनिए। उनले भने, ‘राजावादीको एकतालाई कसैले चाहेर पनि टुटाउन सक्दैन, कमजोर बनाउन सक्दैन। एकताबद्ध भएर हामी जाँदैछौं ।’ उनले काठमाडौंमा जेठ १५ गते लाखौं मान्छे सडकमा आउने दाबी गरे।

लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलन अन्त्य नभई राजावादी समूह नफुट्ने दाबी गरे। उनले भने, ‘हामीले हाम्रो आन्दोलन भनौंला, यो सिंगो देशवासीको आन्दोलन हो। यो आन्दोलन निष्कर्षमा नपुगिकन हामी छुट्नेछैनौं।’

प्रकाशित: २६ वैशाख २०८२ ०६:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App