प्रजातन्त्र सेनानी, नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री सूर्यमान गुरुङको प्रथम स्मृतिसभा बिहीबार ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित उनकै घर फूलपातेडाँडामा सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङलिङ नगरप्रमुख अमिर मादेन, मेरिङदेन गाउँपालिका अध्यक्ष युकहाङवीर (डम्बर) हाङगाम, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतम, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू र कांग्रेसका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थितिमा प्रथम स्मृतिसभा सम्पन्न भएको हो। नेपाली कांग्रेस ताप्लेजुङले स्मृतिसभाको आयोजना गरेको थियो।
कांग्रेस ताप्लेजुङका सभापति गजेन्द्रप्रसाद तुम्याहाङले प्रजातन्त्रको स्थापना तथा लोकतान्त्रिक आन्दोलनका अगुवा गुरुङका योगदानको स्मरण गर्दै प्रथम स्मृतिसभाको आयोजना जिल्ला कार्य समितिले गरेको बताए। सभालाई सम्बोधन गर्ने अधिकांश वक्ताले स्वर्गीय गुरुङले नेपालको प्रजातान्त्रिक तथा राजनीतिक आन्दोलनमा पुर्याएको योगदानको चर्चा गर्दै उनका असल मार्गदर्शन आजको राजनीतिक परिवेशमा समेत उपयोग गर्न लायक रहेको बताए।
विक्रम सम्वत् १९९८ साल वैशाख १० गते जन्मिएका गुरुङको २०८१ साल वैशाख २५ गते निधन भएको थियो। २०१५ सालको नेपालको पहिलो आम निर्वाचनमा गुरुङ कांग्रेसको प्रचारप्रसार विभागको जिम्मेवारीमा थिए। गुरुङले २०१८ सालमा कांग्रेसले गरेको सशस्त्र आन्दोलनका क्रममा ताप्लेजुङ र पाँचथरबाट नेतृत्व गरेका थिए। गुरुङको नेतृत्वमा २०१८ साल चैत्र १७ गते सदरमुकाम फुङलिङमा रहेको प्रहरी ठाना कब्जा भएको थियो। प्रहरी ठाना कब्जापछि त्यही बेलादेखि भूमिगत भएका गुरुङ भारत निर्वासनमा बसेका थिए। २०३६ सालमा आममाफी पाएपछि गुरुङ नेपाल फर्किएका थिए।
२०३६ सालमा भएको कांग्रेस भेलामा एउटा समूह फुटेर पञ्चायतमा भाग लिने पक्षमा उभियो। गुरुङ सोही समूमा रहेर पञ्चायत राजनीतिमा सक्रिय भए। गुरुङ २०३९ सालदेखि २०४६ सालसम्म तत्कालीन जिल्ला पञ्चायतको (हालको जिल्ला समन्वय समितिक) सभापति थिए। २०४६ सालमा प्रजातन्त्र आएपछि कांग्रेसमै बसेर राजनीतिलाई निरन्तरता दिए। २०६४ सालको निर्वाचनमा माओवादीका राम कार्की (पार्थ)लाई पराजित गरेर गुरुङ ताप्लेजुङको निर्वाचन क्षेत्र नं १ बाट संविधानसभाको सदस्य बने।
२०७० सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य भएका गुरुङ २०७३ सालमा एकपटक श्रम तथा रोजगार मन्त्री तथा एकपटक स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री बने। उनी लामो समयसम्म नेपाली कांग्रेसको ताप्लेजुङ सभापति बनेका थिए। कांग्रेसको केन्द्रीय सदस्य समेत भएका गुरुङ कांग्रेसको भातृ संस्था लोकतान्त्रिक जनजाति महासंघका पूर्व केन्द्रीय सभापति समेत भएका थिए।
सादगी जीवन, हाँसो ठट्टालाई मन पराउने गुरुङ संगठन निर्माण र कार्यकर्ता परिचालनमा भने काविल मानिन्थे। राजनीतिक जीवनका साथ उनको सक्रियता सामाजिक जीवनमा समेत लोभलाग्दो थियो।
गुरुङ आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने नेपाल नेत्रज्योति संघ ताप्लेजुङका संस्थापक संयोजक (२०४९) समेत हुन्। बेलायतमा बस्ने उनका छोरा इन्द्रमान र अमेरिकामा बस्ने अर्का छोरा लोचन तथा छोरी छूनु बाबुको प्रथम स्मृतिसभाको कार्यक्रमका लागि जन्मघर फुङलिङ आएका छन्।
इन्द्रमान स्वर्गीय बुबाको राजनीतिक बिरासतलाई पछ्याउँदै अहिले कांग्रेस निकट नेपाल–बेलायत जनसम्पर्क समितिका उपसभापति छन्। गुरुङको परिवारले उपत्यकास्थित आफ्नै घर परिसरमा स्वर्गीय गुरुङको अर्धकदको शालिक निर्माण गरी त्यसको अनावरण समेत गरेका छन्।
प्रकाशित: २५ वैशाख २०८२ १०:३४ बिहीबार





