प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका नीति तथा कार्यक्रम सही भएको दाबी गर्दै विपक्षीको विरोधलाई गम्भीरतापूर्वक नलिन आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्।
शनिबार बालुवाटारमा आयोजित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। “हाम्रा नीतिहरू सही छन्, ढुक्क भएर अगाडि बढ्नुस्। विपक्षीले जे गरे पनि विरोध गर्नैपर्छ भन्ने ठान्छन्, कुनै एक बुँदा पनि समर्थन गर्दैनन्,” ओलीले भने।
उनले विपक्षीले सही कुराको विरोध गरे पनि त्यस्तो विरोध उनीहरूको नाममा भविष्यसम्म रेकर्ड हुने र पछिल्लो पुस्ताले समेत त्यसको मूल्यांकन गर्ने जिकिर गरे।
“गलत बोलेको कुरा रेकर्डबाट हटाउनु हुँदैन, किनभने पछिल्ला पुस्ताले हाम्रा पुर्खाले के बोले भनेर थाहा पाउनुपर्छ,” उनले थपे।
प्रधानमन्त्री ओलीले सरकारले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलमा सांसदहरूलाई गहन अध्ययन गरी स्पष्ट र बलियो ढंगले प्रस्तुत हुन आग्रह गरे। “बोल्दा कुनै चिप्लिने कुरा नहोस्, बुँदाहरू लेखेर जाँदा कुनै कुरा छुट्दैन र व्याख्या गर्न सजिलो हुन्छ,” उनले भने।
उनले संसदमा विपक्षीले उठाउने गलत कुराको तत्काल प्रतिवाद गर्न तयारीका साथ प्रस्तुत हुनुपर्नेमा पनि जोड दिए।
एमालेको संसदीय दल आकार र विचार दुवै हिसाबले बलियो रहेको बताउँदै ओलीले सांसदहरूलाई संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए। “हाम्रो दल मुद्दा र विचारमा पनि ठूलो छ, त्यसैले हरेक कुरा स्पष्ट र तथ्यपूर्ण ढंगले राख्नुपर्छ,” उनले भने।
दलको बैठकमा नीति तथा कार्यक्रमबारे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, एमालेका उपमहासचिव एवं प्रधानमन्त्री मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडाले प्रशिक्षणमूलक विचार व्यक्त गरेपछि सांसदहरुबीच छलफल चल्नेछ।
प्रकाशित: २० वैशाख २०८२ १५:०२ शनिबार





