१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रदेशको बजेट यथार्थ धरातलमा टेकेर आउँछ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आउँदो बजेट यथार्थ धरातलमा टेकेर आउने बताएका छन् ।  

सरकारमा सहभागी राजनीतिक दलका प्रमुखहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट यथार्थ धरातलमा टेकेर ल्याइने बताएका हुन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम यथार्थ धरातलमा तयार पार्न लागेको उनले दलहरुलाई ब्रिफिङ गरे । विगतका वर्षहरूमा प्रदेशको हैसियत भन्दा बाहिर गएर बजेट आउने गरेकामा यस वर्ष करेक्सन गर्न लागिएको बताए । ‘सरकारले घाटा बजेट पनि नबनाउने र प्रदेशको वास्तविक अवस्था अनुसार नीति तथा कार्यक्रम र बजेट आउने छ,उनले भने,‘जनताको आशा जगाउने गरी बजेटको तयारी गरिरहेका छौँ ।’

आम्दानी अनुसार लुम्बिनी प्रदेशको बजेटको आकार ३१ देखि ३२ अर्ब वरिपरि आउने जानकारी गराउँदै उनले यही आधारमा लगानीको प्रतिफल आउने खालका कार्यक्रमहरू बनाउने स्पष्ट पारे । सरकारले नीति तथा कार्यक्रमलाई आधार मानेर वार्षिक बजेट बनाउने भएकाले आगामी वर्षको बजेट नीति तथा कार्यक्रमभन्दा बाहिरको नहुने पनि उनको भनाई छ ।

छलफलमा भाग लिन पुगेका नेपाली कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अनुसन्धानको आधारमा नीति तथा कार्यक्रम र बजेट बनाउन सुझाव दिए । सरकारमा सहभागी दलहरूको मर्म बुझ्दै जनतालाई गरिएको बाचा अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याउन जोड दिए । ‘थोरै बजेटले धेरै काम हुने गरी बजेट ल्याउन जरुरी छ,उनले भने,‘सम्पन्न हुने योजनाको सूची बनाएर बजेटको प्राथमिकतामा राख्नुपर्छ ।’

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुनले प्रदेशप्रति आकर्षण बढाउने गरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए । प्रदेश सरकारले आफ्नो अधिकार प्राप्ति र कार्यान्वयनमा खुट्टा कमाउन नहुने भन्दै संविधानले दिएका अधिकारहरू कार्यान्वयन गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउन जोड दिए।

नेकपा एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले नीति तथा कार्यक्रमले आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘जनताको भावना अनुसार बजेट केन्द्रित हुनुपर्छ,उनले भने,‘भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्नुहोस् ।’

नेकपा एमालेका संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, प्रमुख सचेतक तुलसी चौधरी, एमाले लुम्बिनी प्रदेशका सचिव लक्ष्मण आचार्य लगायतले सहमति अनुकूल दृष्टिकोण उन्मुख बजेट ल्याउनुपर्ने, प्राप्त स्रोतलाई सही परिचालन गर्ने गरी नीति तथा कार्यक्रम बनाउन सुझाव दिए ।

बैठकमा मन्त्री तथा राजनीतिक संयन्त्रमा सहभागी दलका प्रतिनिधिहरू, प्रदेश योजना आयोगका पदाधिकारी तथा सचिवको सहभागिता थियो । बैठकबाट प्राप्त सुझावलाई आधार मानेर नीति तथा कार्यक्रम र बजेट निर्माणमा जोड दिइने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित: १७ वैशाख २०८२ १८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App