११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री १० जनाको टोलीसहित नयाँ दिल्ली उडे

मुख्यमन्त्री कमलबहादुर शाहसहित सुदूरपश्चिम प्रदेश सरकारको प्रतिनिधिमण्डल भारतको औपचारिक भ्रमणमा प्रस्थान गरेको छ। मंगलबार दिउँसो १ः२५ बजे मुख्यमन्त्री शाहसहित १० जनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै नयाँ दिल्ली प्रस्थान गरेको हो। 

भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा माओवादी केन्द्रका सांसद झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका प्रमुख सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट सामेल छन्। 

मुख्यमन्त्री शाह नेतृत्वको टोलीले भ्रमणका क्रममा भारतको केन्द्र सरकारका मन्त्रीसँग भेटघाटका साथै विवेकानन्द अन्तर्राष्ट्रिय फाउन्डेसन सङ्घसँग अन्तरक्रिया गर्नेछ। 

यस्तै सुदूरपश्चिम प्रदेशसँग सीमा जोडिएका उत्तर प्रदेश र उत्तराखण्ड प्रदेशका विभिन्न स्थानको पनि भ्रमण गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

साथै भारतमा रहँदा भारतीय कृषि अनुसन्धान संस्थाको अवलोकन भ्रमण, अयोध्याको धार्मिक पर्यटकीय क्षेत्रको भ्रमण, देहरादुनका कृषि क्षेत्रसहित पर्यटकीय क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ। 

यस्तै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र कृषि मन्त्रीसँग समेत भेटघाटको कार्यसूची रहेको जनाइएको छ। 

प्रकाशित: १६ वैशाख २०८२ १४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App