नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज कैलालीको टीकापुर पुग्दै छन्। ‘जनतासँग माओवादीः तराई मधेश जागरण अभियान’अन्तर्गत बर्दिया पुगेका उनी साँझ ५ बजे सत्तीघाट पुल हुँदै टीकापुर प्रवेश गर्नेछन्। उनको बसाइ टीकापुर नगरपालिकाभित्रै हुनेछ।
बसाइलाई लिएर केही दिनदेखि पार्टीभित्र विवाद चलेको छ। स्रोतका अनुसार सुरुमा उनको बसाइ टीकापुर नगरपालिका वडा नम्बर ७, ८ वा ९ मा रहेको कुनै सहिद परिवारको घरमा हुने भनिएको थियो। तर, असुरक्षाको कारण देखाउँदै यो योजनालाई विफल पारिएको छ।
केही व्यक्तिहरूले बसाइ टीकापुर नगरपालिका वडा नम्बर १ मा रहेको व्यवसायी टीकाराम जैशीको घरमा हुनुपर्ने बताए। अध्यक्षसँग नजिकको सम्बन्ध रहेका जैशीको घर सशस्त्र प्रहरीको शिक्षालयसँग जोडिएको छ।
बसाइको विषयमा पार्टीका नेताहरूबीच छलफल भइरहँदा नगर अध्यक्ष धनसिंह साउँदको टीकापुर नगरपालिका वडा नम्बर ८ मा रहेको घरमा बस्नुपर्ने प्रस्ताव आएको छ। वडा नम्बर ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले सहिद परिवारको घरमा बस्ने योजना नभए नगर अध्यक्षकै घरमा बस्न उपयुक्त हुने सुझाए।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालको बसाइको टुंगो अझै लागेको छैन। नगर अध्यक्ष साउँदले गाउँतिरै बस्ने सल्लाह भएको बताए। ‘प्रदेश इन्चार्जले टुंग्याउनुहुन्छ,’ उनले भने, ‘गाउँतिरको बसाइ सुरक्षाको हिसाबले राम्रो नहुने कुरा पनि उठेको छ।’
तर, व्यवसायी जैशीले बसाइको विषयमा कुनै विवाद नभएको दाबी गरे। उनले नगर अध्यक्ष साउँदकै घरमा बस्ने कुरा तय भएको जानकारी दिए। ‘गाउँमै बस्दा राम्रो हुन्छ,’ उनले भने, ‘यो सबै गलत हल्ला हो। कुनै विवाद छैन।’
स्रोतका अनुसार जैशीले यस्तो भने पनि केही नेताहरू उनकै घरमा बसाउने कुरामा अडिग छन्। उनीहरूले सुरक्षाको कारण देखाउँदै जैशीको घरमा बसाइको पक्षमा अभियान चलाइरहेका छन्। केही व्यक्तिहरूले सामाजिक सञ्जालमा बसाइको विवादलाई संकेत गरेका छन्।
नेकपा माओवादी केन्द्र कैलालीका इन्चार्ज नेपबहादुर चौधरीका भाइसमेत रहेका माओवादी नेता कृष्णकुमार चौधरी आमुलले फेसबुकमा लेखे, ‘१५ गते टीकापुरमा अध्यक्ष कमरेडको बसाइ सहिद परिवारको घरमा मिलाउँदा बेस होला कि।’ उनको कुरामा केही नेता–कार्यकर्ताले समर्थन जनाएका छन्। यसले बसाइको विषयमा विवाद रहेको स्रोतको दाबीलाई पुष्टि गर्छ।
प्रकाशित: १५ वैशाख २०८२ १३:१४ सोमबार





