नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले नेपाली पर्यटन क्षेत्र ‘भ्रष्ट क्षेत्र’ भनेर बदनाम रहेको भन्दै यसको सफाइ गर्नुको विकल्प नरहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बजगाईँले यस्तो बताएका हुन्।
‘नेपाल उड्डयन सेवा विधेयकको आवश्यकता–नेपाली पर्यटन क्षेत्र भ्रष्ट क्षेत्रमा बदनाम छ। यो क्लिन गर्नु विकल्प छैन,’ सांसद बजगाईँले भने। आफूले धेरै अघि देखि नै नेपालको उड्डयन सुरक्षाको अवस्था अत्यन्तै कमजोर रहेको र सुधार आवश्यक रहेको कुरा उठाउँदै आएको उनले बताए। उनले भने, ‘नेपाल अझै पनि युरोपियन युनियनको कालो सूचीमा परेको छ र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले लगातार निगरानी गरिरहेको अवस्था छ। हाम्रो हवाई सुरक्षा मापदण्ड निकै न्यून स्तरमा रहेको तथ्य सबैलाई थाहा छ।’
यही गम्भीरता बुझ्दै पार्टी सभापति शेरबहादुर देउवा, १५ जना विभिन्न सांसदहरू, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा, पूर्व मन्त्री एनपी साउद, गृहमन्त्री रमेश लेखकलगायतको टोली प्रधानमन्त्री केपी शर्मा ओली निवास पुगेको उनले बताए। ‘तर प्रश्न उठ्छ: किन कानुन निर्माणकर्ताहरूले विधेयक तयार पारिरहेका छैनन् र किन नागरिक उड्डयन अधिकारीहरू तथा सांसदहरूले यो विधेयक सांसदबाट पारित गराउन पहल गरिरहेका छैनन्?,’ सांसद बजगाईँले प्रश्न गरे।
नेपालको हवाई सुरक्षाको कमजोरीले हाम्रो हिमाल पर्यटन क्षेत्रलाई प्रत्यक्ष असर गरिरहेको उनले बताए। ‘यो वर्ष सगरमाथा आरोहणका लागि ५०० भन्दा बढी आरोहीहरू आएका छन् र यदि तिनीहरूको सहयोगी समूह र भरिया समूहलाई समेत गणना गर्ने हो भने २,००० भन्दा बढी व्यक्तिहरू आरोहण टोलीका रूपमा रिपोर्ट हुनेछन्। तर, पर्यटन मन्त्रालयसँग भविष्यमा सम्भावित विपद् व्यवस्थापनको योजना छैन, न त सुरक्षित आरोहण मार्ग पहिचान गरिएको छ,’ उनले भने।
पहिलेदेखि नै ‘फेक रेस्क्यू’ घोटालाजस्ता घटनाहरूले ठुलो बदनाम गराएको पनि उनले बताए। उनले भने, ‘आजसम्म उचित सुरक्षा मापदण्डहरू पालन गरिएको छैन। मन्त्रीहरू बारम्बार परिवर्तन भइरहने परिपाटीले पनि स्थायित्व र प्रतिबद्धता ल्याउन सकेको छैन।’
नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्न, पर्यटन अर्थतन्त्र जोगाउन, र नागरिकहरूको ज्यान जोगाउन अब ढिला नगरी बलियो उड्डयन सेवा विधेयक पास गर्न अत्यावश्यक रहेको सांसद बजगाईँले बताए।
प्रकाशित: १४ वैशाख २०८२ १७:२४ आइतबार





