१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
राजनीति

संसदमा शक्ति बस्नेतको आरोप : सरकार नियुक्तिमा केन्द्रित, शिक्षकका माग उपेक्षित

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले सरकार नियुक्तिमा मात्र केन्द्रित भएको आरोप लगाएका छन्। उनले शिक्षकका माग पूरा गर्न ध्यान दिन आग्रह पनि गरेका छन्। 

बैठकमा सांसद सराज अहमद फारुकीले भारतको पहलगाममा भएको आतङ्ककारी हमलाको निन्दा गर्दै दोषीलाई कडा कारबाही गर्न माग गरे। फारुकीले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सद्भाव बिगार्ने र मुस्लिम समुदायको भावनामा ठेस पुर्‍याउने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्। 

सांसद रामहरि खतिवडाले इजरायलमा कार्यरत नेपाली विपिन जोशीको अज्ञात अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनको खोजी र उद्धारको माग गरे। एमाले सांसद ठाकुरप्रसाद गैरेले भारतको जम्मु कश्मिरमा आतङ्ककारी हमलामा २६ जनाको मृत्यु भएको घटनाको निन्दा गरेका छन्।

सांसद रामकृष्ण यादवले वैशाख ११ गते धनुषाको सहिदनगर नगरपालिकामा पवित्रा साह र उनका तीन सन्तानको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गर्दै छानबिनको माग गरे।

सांसद शेरबहादुर कुँवरले अछाममा आगलागीका घटना बढेको भन्दै पीडितलाई क्षतिपूर्ति दिन माग गरे भने सांसद तारा लामाले वैशाख ९ गते बेलडाँडी गाउँपालिकाका हरिकृष्ण रानाको हत्या भएको भन्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्। उनले सरकारलाई शिक्षकका माग सम्बोधन गर्न र शिक्षकलाई व्यावहारिक हुन आग्रह पनि गरेका छन्। रासस

प्रकाशित: १४ वैशाख २०८२ १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App