१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

अध्यक्ष भएको २४ घण्टामै कमलविरुद्ध भ्रष्टाचार मुद्दा

कमलको तीन दिन: नियुक्ति, पदभार, भ्रष्टाचार मुद्दा!

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष कमल कुमार उपाध्यायसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मंगलबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

सार्वजनिक खरिदमा अनियमितता गरेको आरोपमा केएस मल्टिप्रपोज प्रा.लि.का अध्यक्षसमेत रहेका उपाध्याय, पचरौता नगरपालिका, बाराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अंसारीविरुद्ध आरोपपत्र पेश गरिएको हो।

अख्तियारका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा पचरौताले सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रियस्तरको दैनिक पत्रिकामा बोलपत्र सूचना प्रकाशित नगरी प्रभाव दैनिकमा मात्र सूचना छापेको देखिएको छ।

सोही झुटा सूचनाका आधारमा केएस मल्टिप्रपोजले पचरौता नगरपालिकाबाट ३ लाख ५२ हजार ५६० रुपैयाँ भुक्तानी लिएको प्रमाणित भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

‘सूचना लुकाएर नगरपालिकाबाट रकम भुक्तानी लिई भ्रष्टाचार गरिएको पुष्टि भएपछि अभियोगपत्र दायर गरिएको हो,’ पौडेलले भने, ‘उपाध्यायसहित तीनै जना कार्यमा संलग्न देखिएका छन्।’

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१)(ङ) अनुसार उपाध्यायले गैरकानूनी लाभ लिन सघाएको र दफा २२ बमोजिम मुख्य कसूरदारसरह कारबाही गर्न माग दाबी गरेको छ।

उपाध्यायलाई मधेश प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद बैठकले मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरेको थियो।

सोमबार मुख्यमन्त्री सतीशकुमार सिंहको उपस्थितिमा प्रदेशका गृहमन्त्री, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीबाट उनले पदभार ग्रहण गरेका थिए।

हाल मिडिया काउन्सिलको अध्यक्ष रहेका उपाध्यायविरुद्ध आरोपपत्र दायर भइसकेकाले भ्रष्टाचार निवारण ऐनको दफा १३ अनुसार उनी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ।

स्थानीय तहबाट सार्वजनिक सूचना प्रकाशनका नाममा उपाध्यायले आफ्नै संस्थामार्फत सूचना छपाई गराई ठेक्का ‘लक’ गर्ने र लाभ उठाउने गरेको उजुरीहरू पनि अघिसारिएका छन्।

प्रकाशित: ९ वैशाख २०८२ १६:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App