गण्डकी प्रदेश नीति तथा योजना आयोगले 'आयोजना बैंक' सञ्चालनमा ल्याएको छ। योजना छनोट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आयोजना बैंक सञ्चालनमा ल्याइएको बताइएको छ।
बैंकको सोमबार (आज) प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुभारम्भ गरेका छन्। बैंकमा प्रदेश सरकार मातहतका मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयले योजना प्रविष्ट गर्ने र प्राथमिकताका आधारमा प्रदेश सरकारले कार्यान्वयन गर्ने बताइएको छ।
आज भएको प्रदेश र स्थानीय तहबीच योजना साझेदारी विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आगामी वर्ष सञ्चालन गर्न सकिने कार्यक्रमहरूको सम्भावनाका बारेमा जानकारी दिएका छन्।
कृषि र पर्यटन केन्द्रित साझेदारीका कार्यक्रम गरि ग्रामिण अर्थतन्त्रमा उकास्न, रोजगारी सिर्जना गर्न र युवा पलायन रोक्ने योजनामा केन्द्रित हुन उनले स्थानीय तहहरूलाई अनुरोध गरेका छन्।
लागत साझेदारीमा हुने कार्यक्रम प्रतिफल देखिने खालको बनाउन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले आगामी वर्ष नमुना कार्यक्रमको रूपमा सञ्चालन गरिने बताएका छन्।
प्रकाशित: ८ वैशाख २०८२ १८:०० सोमबार





