११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

व्यवस्थामाथि प्रहार गर्ने जोसुकैमाथि कारबाही हुन्छ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले व्यवस्थामाथि प्रहार गर्ने जोसुकै भएपनि क्षम्य नहुने बताएका छन् । गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले भने, 'पूर्वराजा वा राजावादीका नाममा वा अन्य विभिन्न समूहका नाममा मुलुकमा अस्थिरता उत्पन्न गर्ने, संविधानलाई समाप्त गर्ने, संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई समाप्त गर्ने गतिविधि कुनै पनि हालतमा क्षम्य हुनेछैन, सह्य हुने छैन ।’

गृहमन्त्री लेखकले सहिदहरुको बलिदान, अग्रजहरुको त्याग र तपस्याबाट प्राप्त व्यवस्था र संविधान विश्वकै उत्कृष्ट भएकाले यसको रक्षा गर्नू राज्यको दायित्व भएको बताए । त्यसको रक्षाका लागि दृढतापूर्वक लाग्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिदै उनले थपे, 'यो संविधान फाल्ने, भत्काउने, च्यात्ने र देशमा अस्थिरतामा निम्त्याउने कार्य सह्य र क्षम्य हुन सक्दैन । यसको नियन्त्रण र निस्तेज गर्ने कुरामा हामी दृढ हुनुपर्छ ।’ राजावादीका नाममा विध्वंशात्मक गर्ने, हत्या, हिंसालाई प्रश्रय दिने र जोरजबरजस्तीमार्फत देशलाई अस्थिरतामा लैजाने प्रयास भइरहेको भन्दै त्यसलाई रोक्नु अहिलेको मुख्य जिम्मेवारी भएको उनले बताए ।

गृहमन्त्री लेखकले यहि व्यवस्थामा सरकारको आलोचना गर्ने, प्रधानमन्त्री वा मन्त्रीहरुको आलोचना गर्ने वा विरोध गर्ने हक भएको बताए । सरकारको आलोचना गर्न पाईन्छ, विरोध गर्न पाईन्छ,उनले भने, 'मन परेन भने सरकार बदल्नपनि पाईन्छ । आवधिक निर्वाचनमार्फत मन परेको पार्टी र नेतालाई भोट हाल्न र मन नपरेको पार्टी र नेतालाई भोट नहाल्नपनि पाईन्छ । तर संघीय लोकतान्त्रिक संविधानलाई च्यात्न पाईंदैन, समाप्त गर्न पाईंदैन । भत्काउन वा फाल्न पाईंदैन । त्यसैले तपाईंहरु संविधान रक्षाका लागि दृढतापूर्वक उभिनुस् ।’  

गृहमन्त्री लेखकले संविधान संसोधन हुनसक्ने बताए । सहमतीका आधारमा संविधान संसोधन गर्छौं,उनले भने, 'तर संविधान संसोधन अग्रगामीमा जानका लागि हुन्छ । पश्चगामी हुन सक्दैन ।’

गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीमा शान्ति सुरक्षाको चुनौति ठूलो रुपमा नभएको बताए । प्रदेशको शान्ति सुरक्षा सन्तोषजनक छ,उनले भने, 'देशमा कुनै प्रकारको भूमिगत सशस्त्र संघर्ष छैन । जातिय पहिचानका लागि खोलिएका संघसंस्थाको माग सम्बोधन  गरिएको छ ।’ यद्यपि लागूऔषध दुरुपयोग भने चुनौतीको रूपमा देखा परेको उनले बताए । उनले सामाजिक सञ्जालबाट उत्तेजित बनाएर सुरक्षा थ्रेट बढाउने काम  भने भइरहेको भन्दै त्यसतर्फ सचेत हुन जरुरी रहेको औंल्याए ।

मुख्यमन्त्री पाण्डेले प्रहरी प्रदेश मातहत नआएकोप्रति दुःख व्यक्त गरे । प्रदेश प्रहरी ऐन बनेपनि प्रदेश मातहत प्रहरी नआएको भन्दै उनले दुःख व्यक्त गरेका हुन् । उनले संघ सरकारले प्रहरी समायोजनमा सकारात्मक भूमिका नखेलेको आरोपसमेत लगाए ।

सुरक्षा गोष्ठीमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा अनुसन्धानका प्रदेश र जिल्लास्थित कार्यालयका प्रमुखहरुको सहभागिता छ । सुरक्षा गोष्ठीले गण्डकी प्रदेशको सुरक्षाको अवस्थाबारे विश्लेषण गर्दै त्यसलाई चिर्न अप्नाउने सुरक्षा रणनीति तयार गर्ने बताइएको छ ।

आपतकालीन गोदामघर गण्डकी सरकारलाई हस्तान्तरण

पोखरामा निर्माण गरिएको प्रादेशिक आपतकालीन गोदाम हस्तान्तरण गरिएको छ । विपद्का बेला तत्काल राहत तथा उद्दार सामग्री भण्डारण गर्नका लागि पोखराको पुरानो विमानस्थल प्राङ्गणमा निर्माण गरिएको प्रादेशिक आपतकालीन गोदाम गण्डकी प्रदेश सरकारलाई शुक्रबार हस्तान्तरण गरिएको हो । पोखरामा शुक्रबार विहान आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई सो गोदाम घर हस्तान्तरण हस्तान्तरण गरे।  

विपद् तथा त्यसबाट मानव जीवन र सम्पत्तिमा हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माण गरिएको आपतकालीन गोदाम घर करीब १ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा बनाइएको छ । यूरोपेली युनियनको सहयोगमा आपतकालीन राहत र उद्धारका सामग्रीको भण्डारण गर्न यस प्रादेशिक आपत्कालिन गोदाम घरमा ७०० मेट्रिक टन भण्डारण क्षमता रहेको जनाइएको छ । गोदाम घरमा ४ वटा प्रिक्याब भवन छन् । यसमा ७ हजार ५०० लिटर इन्धन भण्डार गर्ने ब्लाडर समेत छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले संकटको बेला तत्काल राहत सामग्री आपूर्ती सुनिश्चित गर्नेगरी निर्माण गरिएको यस गोदाम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले भने,।।।जे उद्देश्य राखेर बनाइएको छ, त्यसका लागि यो पूर्ण रुपमा सदूपयोग हुनेछ भन्ने विश्वास छ ।’

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश प्राकृतिक विपत्तिका दृष्टिले जोखिमपूर्ण रहेकाले यसले जोखिम न्यूनीकरणमा सघाउ पुग्ने बताए । यसले प्रदेशको राहत वितरण प्रणालीपनि एकद्वार प्रणालीबाट गर्न सहयोग पुग्नेपनि उनको भनाई थियो ।

प्रकाशित: ५ वैशाख २०८२ १७:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App