उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास गर्ने जादुको छडी कसैसँग नभएको बताएका छन् ।
आज मोरङको जहदामा पत्रकारहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले एक थरीले व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भनेर गलत भाष्य तयार गर्न खोजिरहेको भन्दै कसैसँग पनि विकास गर्ने जादुको छडी नभएको बताएका हुन् ।
सिंहले व्यवस्था मात्रै परिवर्तन भएको नभई अवस्थामा पनि परिवर्तन आएको दाबी गरे । ‘एक थरीले व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भनेर गलत भाष्य तयार पार्न खोजिरहेका छन्’ सिंहले भने,‘सबैले बुझ्नुपर्ने कुरा के हो भने विकास गर्ने जादुको छडी कसैसँग छैन ।’
सिंहले अहिलेको सरकारले राम्रो काम गरिरहेको र आर्थिक सूचकहरू पनि सुधार हुँदै गएको दाबी गरे। सिंहले सडकबाट संविधान परिवर्तन नहुने बताए । संविधानसभाबाट बनेको संविधानका प्रवधानहरू संशोधन गर्न दुई तिहाइ बहुमतबाट मात्रै संभव हुने बताए । सडकबाट संविधान नबनेका कारण सडकबाट संविधान परिवर्तन हुन नसक्ने उनको भनाई छ ।
क्रान्तिकारी भाषण गरेर मात्रै परिवर्तन नहुने भएकाले विधि प्रक्रियाबाटै सबै समस्याको समाधान निकाल्नु पर्ने उनको धारणा छ । कोही व्यक्ति, समूह असन्तुष्ट हुनु स्वभाविक भए पनि असन्तुष्टिहरूको समाधान विधि र प्रक्रियाबाटै खोज्नुपर्ने उनले स्पष्ट पारे । सडकमा गएर अशान्ति मच्चाएर देशलाई राम्रो नगर्ने उनको भनाई छ । उनले संविधानको परिधिभित्र बसेर शान्तिपूर्ण रुपमा विचार राख्न पाउने भए पनि शान्तिपूर्ण भन्ने तर, अशान्ति मच्चाउने कामलाई सरकारले नियन्त्रण गर्ने स्पष्ट पारे ।
प्रकाशित: ३ वैशाख २०८२ १७:२३ बुधबार





