खानेपानी मन्त्री प्रदीप यादवलाई खानेपानी तथा ढल व्यवस्थापन विभागले मंगलबार १५ किलोको मालाले सम्मान गरेको छ।
दिगो पानी स्रोत संरक्षण, स्वच्छ ढल व्यवस्थापन र सर्वसुलभ सरसफाइ सेवामार्फत नयाँ युगको आधारशिला निर्माणमा योगदान पुर्याएको भन्दै यो सम्मान गरिएको हो
आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा, आगामी वर्ष २०८२/८३ को योजना तर्जुमा र विभागको नवस्वीकृत सङ्गठनात्मक संरचनाअनुरूप भावी रणनीतिमाथिको छलफल कार्यक्रममा मन्त्री यादवले हालसम्म १२ ठूला आयोजना सम्पन्न भई २० लाखभन्दा बढी नागरिकले सुरक्षित खानेपानी सेवा प्राप्त गरेको सुनाए।
उनले चालु आर्थिक वर्षभित्र ११ अर्बभन्दा बढीको बहुवर्षीय स्रोत सहमतिमार्फत ८१ नयाँ आयोजना ठेक्का प्रक्रियामा अघि बढेको जानकारी दिए।
मन्त्री यादवले सात वर्षदेखि रोकिएको नेपाल खानेपानी संस्थानको कर्मचारी सेवा शर्त विनियमावली कार्यान्वयनमा ल्याइएको उल्लेख गर्दै यो कर्मचारी मनोबल वृद्धिका लागि महत्वपूर्ण कदम भएको बताए।
मेलम्ची खानेपानी आयोजनालाई स्काडा प्रणालीमार्फत घर-घरमा नियमित पानी पुर्याउने प्राविधिक पूर्वाधार स्थापित भइसकेको उनको भनाइ छ।
साथै, गरिब, विपन्न र दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क खानेपानी सुनिश्चित गर्न सरकारले ठोस पहल गरेको उनले दाबी गरे।
कार्यक्रममा मन्त्रालयकी सचिव इञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्यले स्वच्छ, शुद्ध र गुणस्तरीय खानेपानी सेवा प्रदान गर्न मन्त्रालय निरन्तर प्रयासरत रहेको बताइन्।
उनलाई पनि विभागले मालाले सम्मान गरेको थियो। विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जलवायु परिवर्तन उत्थानशील संरचना निर्माण गरी खानेपानीको गुणस्तर वृद्धि र सबै नागरिकलाई सरसफाइ सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री यादवले अन्तर्राष्ट्रिय सहकार्यमा प्रगति भएको उल्लेख गर्दै भारत सरकार, इसिमोड, जाइका र एशियाली विकास बैंकसँगको साझेदारीले नेपालको पानीलाई विश्वचिन्तनको केन्द्रबिन्दुमा पुर्याएको बताए।
प्रकाशित: २ वैशाख २०८२ २०:३० मंगलबार