राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले अदालतको आदेशलाई सम्मान गर्ने बताउँदै कानुनी अधिकार प्रयोग गरी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने प्रक्रिया अवलम्बन गर्ने जनाएका छन्।
सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई सोमबार बिहान रुपन्देही जिल्ला अदालतमा हाजिर गराई भैरहवा कारागार चलान गरिएको छ।
उनले कारागार पुगेपछि निकट नेताहरूमार्फत चार सन्देश पठाएका छन्। “अदालतको आदेशको सम्मान छ, कानुनले दिएको अधिकार प्रयोग गर्छु,” उनले भने, “न्यायको मन्दिरबाट अन्याय हुँदैन भन्नेमा विश्वस्त छु, तर उठेका आशंका गलत सावित हुन्छन्।”
लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध भएको दाबी गर्दै पार्टीलाई एकजुट राख्न नेताहरूलाई आग्रह गरेका छन्।
“अहिले ममाथि प्रतिशोध भयो, पालो सबैको आउँछ,” उनले भने, “यो परीक्षाको पहिलो विद्यार्थी म भएँ, अरूले पनि जाँच दिनुपर्छ। अभियानलाई जनतामाझ पुर्याउनुस्, सक्नुहुन्छ बढाउनुस्, नसके नघटाउनुस्।”
उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि शुक्रबार राति काठमाडौंबाट पक्राउ परेका उनी चैत २३ गते यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल ल्याइएका थिए। सोमबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पूरा गरी उनलाई कारागार पठाएको हो।
लामिछानेको कारागार बसाइ कति लामो हुन्छ भन्ने निश्चित छैन। उनी थुनामुक्त हुने दुई सम्भावना छन्- पहिलो, सर्वोच्च अदालतले उच्च अदालतको आदेश बदर गरी धरौटीमा छाडेमा, र दोस्रो, जिल्ला अदालत रुपन्देहीले सहकारी ठगी मुद्दामा सफाइ दिएमा।
यी अवस्थाबाहेक मुद्दा टुंगिन छिटोमा एक-डेढ वर्ष लाग्न सक्ने र त्यतिन्जेल उनी थुनामा रहनुपर्ने हुन सक्छ। उच्च अदालतको फैसलाविरुद्ध उनी सर्वोच्च अदालतमा निवेदन दिन सक्नेछन्। जसरी सरकारी वकिलको कार्यालयले जिल्ला अदालतको धरौटी आदेशविरुद्ध उच्च अदालत गएको थियो।
उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको १ करोड धरौटीमा छाड्ने आदेश बदर गरेपछि लामिछाने पक्राउ परेका हुन्। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको फैसलाले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
लामिछाने निकट नेताहरूले उनका सन्देश सार्वजनिक गर्दै कानुनी लडाइँ र पार्टी अभियान सँगसँगै अघि बढाउने बताएका छन्।
प्रकाशित: २५ चैत्र २०८१ १६:२९ सोमबार





