सरकारले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका सविन महर्जन र सुरेश रजकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ।
गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो।
चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शन उग्र बनेपछि भएको झडपमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो।
पोस्टमार्टम रिपोर्टअनुसार महर्जनको शरीरमा गोली लागेको पुष्टि भएको छ भने रजकको शरीरमा गोली नभेटिएको चिकित्सकले बताएका छन्।
सविनको शवको मंगलबार दाहसंस्कार गरिएको छ भने सुरेश रजकको दाहसंस्कार आज (बुधबार) हुने परिवारले जनाएको छ। दुवैको पोस्टमार्टम प्रक्रिया पूरा भइसकेको छ।
प्रकाशित: २० चैत्र २०८१ १७:३६ बुधबार