१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ९:३२ पूर्वाह्न
राजनीति

झलनाथले भने: हाम्रो अध्यक्षको निवासमा समेत आक्रमणको प्रयास गरियो, सरकारले तुरुन्त कारबाही गर्नुपर्छ

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले काठमाडौंमा शुक्रबार भएको राजावादी प्रदर्शन अराजक र विध्वंसकारी भएको बताएका छन्।

उनले उक्त घटनालाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै सरकारको असक्षमताप्रति प्रश्न उठाएका छन्। खनालले भने, ‘’राजधानीमा गणतन्त्र विरोधी, संविधान विरोधी र व्यवस्था विरोधीहरूद्वारा गरिएको प्रदर्शन सुरुदेखि नै अराजक थियो। उनीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरे, घरहरूमा आक्रमण गरे, तीनकुनेस्थित मार्बल हाउसमा तोडफोड र आगजनी गरे। त्यति मात्र होइन, मिडिया हाउसहरूमा समेत आक्रमण गरी एक पत्रकारको हत्या गरेका छन्।’’

उनले राजावादी प्रदर्शनकारीहरूले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा समेत तोडफोड र आगजनी गरेको बताउँदै भने ‘’हाम्रो अध्यक्षको निवासमा समेत आक्रमणको प्रयास गरियो। निजी पसलहरू लुटिए, भाटभटेनी सुपरमार्केटमा लुटपाट भयो, जडीबुटी उत्पादन कारखानासमेत जलाइयो,’’ खनालले बताए।

उनले यस्ता गतिविधिलाई ‘अराजनीतिक, अराजक र निन्दनीय’ भन्दै सरकारको अकर्मण्यता र सुरक्षाको कमजोर अवस्थाप्रति प्रश्न उठाए। ‘’सरकारले यस्तो विध्वंसक गतिविधि किन रोक्न सकेन ? किन समयमै सुरक्षा व्यवस्था मिलाउन सकिएन ? अपराधीहरूलाई तुरुन्त पक्राउ गरी कडा कारबाही गरिनुपर्छ,’’ उनले जोड दिए।

खनालले देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई सचेत रहन आह्वान गर्दै भने, ‘’देशको परिस्थितिलाई गम्भीरतापूर्वक लिऔं। सत्तामा रहेका यथास्थितिवादीहरूको अकर्मण्यताको विरोध गरौं र पुनरुत्थानवादी राजावादीहरूको विध्वंसक गतिविधिको भण्डाफोर गरौं। गणतन्त्रको रक्षा गर्दै राष्ट्रलाई आमूल परिवर्तनको दिशातिर अघि बढाऔं।’’

सरकारले प्रदर्शनका क्रममा भएका हिंसात्मक गतिविधिको छानबिन गरी दोषी पहिचान गर्ने र आवश्यक कारबाही गर्ने जनाएको छ।

प्रकाशित: १५ चैत्र २०८१ २०:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App