पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीहरूले 'मण्डले चरित्र' देखाएको बताएका छन्।
काठमाडौंको तीनकुनेमा प्रदर्शनका क्रममा राजावादीहरूले घरमा आगो लगाएको प्रसङ्ग झिक्दै दाहालले भने, 'राजावादीहरूले चरित्र देखाए। त्यहाँ घरमा आगो लगाए। त्योचाहिँ राजावादी मण्डेलहरूको चरित्र हो। यो सम्पूर्ण नेपाली जनताले देख्नेगरी, सबैले बुझ्नेगरी काठमाडौंमा आज प्रदर्शित भयो।'
शुक्रबार (आज) काठमाडौंको प्रदशर्नी मार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा दाहालले अब मुलुक पछाडि नफर्किने बताए । 'नेपाली जनताको र नेपालको राजनीतिक दलहरूको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साह नहोस्,' उनले भने।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहले गल्ती गरेको र त्यसको परिणाम अहिले भोगिरहेको बताए। 'अब फेरि अर्को गल्ती गरे भने उनले भोग्न बाँकी केही रहने छैन,' उनले भने।
प्रकाशित: १५ चैत्र २०८१ १५:३१ शुक्रबार