२० चैत्र २०८१ बुधबार
image/svg+xml ५:१९ पूर्वाह्न
राजनीति

गणतन्त्रवादीलाई चुनौती दिँदै राजावादी

फाइल तस्वीर

गणतन्त्रको १९ वर्ष शासनसत्तामा रहेका गणतन्त्रवादी दलहरूले जनताको समस्यामा ध्यान नदिएकै कारण राजावादीहरूले टाउको उठाउने मौका पाएका छन्। केही महिनायता व्यवस्थाविरोधी गतिविधिलाई तीव्र पार्दै उनीहरू सडकमा आउन थालेका हुन्। राजावादीहरू हौसिएर आन्दोलनमा लाग्न थालेपछि गणतन्त्रवादीहरू एक ठाउँमा उभिएका छन्। अर्थात्, गणतन्त्रवादीलाई एकै ठाउँमा ल्याउन राजावादीहरूले नै भूमिका खेलेका छन्।

अहिले गणतन्त्रवादीहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) लगायत दलहरू कुनै न कुनै रूपमा गणतन्त्रलाई संस्थागत गर्न एकै ठाउँ उभिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा नेकपा एसका अध्यक्ष माधव नेपालले एउटै मञ्चबाट नभए पनि गणतन्त्रलाई संस्थागत गर्ने क्रममा समान मत राख्दै आएका छन्।

‘सत्ता राजनीतिले गर्दा लय गुमाएका गणतन्त्रवादीलाई राजसंस्थाको वकालत गर्ने यस्तो प्रदर्शनले एकै ठाउँमा ल्याइदिएको छ। यो सकारात्मक पक्ष हो,’ प्राध्यापक ऋषिराम शर्माले भने।

उनका अनुसार सत्ताका कारण दलहरू अहिले पनि आपसमा भिडेकाले जनताको समस्यालाई ध्यान नदिँदा राजावादीहरूले मुन्टो उठाउने ठाउँ पाएका हुन्। १९ वर्षयता कुनै पनि प्रमुख नेताहरू सत्ताबाहिर छैनन्। उनीहरूले कुनै न कुनै रूपमा सत्ताको बागडोर सम्हालेका छन्। तर पनि जनताको समस्यामा गम्भीर नबनेको भन्दै आलोचना मात्र भएको छैन, जनताले वैकल्पिक धारका दललाई समेत मत जाहेर गरिसकेका छन्।

३० वर्षयता राजसंस्थालाई बोकेर हिँड्ने पूर्वपञ्चहरूबाहेक अहिलेको आन्दोलनमा सुरक्षा अंगका पूर्वअधिकारीहरू, मेडिकल व्यवसायी दुर्गा प्रसाईंजस्ता अराजक प्रवृत्तिका व्यक्तिहरू सहभागी हुँदै छन्। राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) जस्ता पार्टीले संविधानको अधीनमा रहेर संसदीय मोर्चालाई समेत उपयोग गरी राजसंस्थाको वकालत गर्दै आएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन शुभकामना दिने क्रममा अहिले जनातको समस्याप्रति दलहरू संवेदनशील नभएको आशयको अभिव्यक्ति दिएपछि उत्साहित बनेका दुर्गा प्रसाईं समूहले आन्दोलनको नेतृत्व गर्दै आएको छ। त्यसमा अधिवक्ता स्वागत नेपालजस्ता स्वतन्त्र व्यक्ति पनि मिसिएपछि थप बल पुगेको देखिन्छ।

 प्रसाईंको नेतृत्वमा केही नागरिक भेला भएर फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्कने बेलामा स्वागत गर्ने भन्दै जुलुस प्रदर्शन भएको थियो। जबकि जुलुसमा प्रसाईंका अतिरिक्त राप्रपा र राप्रपा नेपाल पनि सहभागी भए। सोही जुलुसमा केही नागरिक भेला भएको देखेपछि पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्ने निर्णय सार्वजनिक भएको थियो। ८६ वर्षीय सुवेदीको नेतृत्वमा समिति बनेपछि राप्रपा र राप्रपा नेपालजस्ता पार्टीले पनि आन्दोलनको घोषणा गरेका हुन्।

त्यसक्रममा माओवादी केन्द्र तराई–मधेस जागरण अभियानमा थियो। राजावादी सक्रिय भएपछि सो जागरण अभियान छाडेर माओवादी केन्द्रको सिंगो नेतृत्व काठमाडांै आयो। उता सरकारमा रहेका दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूले पनि पुनरुत्थावादीहरू सल्बाएको र राजा फर्कने कुनै सम्भावना नरहेको भन्दै एकैखाले अभिव्यक्ति दिइरहेका छन्।

बिहीबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले रहर गर्दैमा गणतन्त्र नजाने बताए। उनले जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत गणतन्त्र आएकाले कसैको रहरले नहट्ने बताएका हुन्।

‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौं। जनताको इच्छाअनुसार संविधानसभामार्फत गणतन्त्र आएको हो। कसैले रहर गरेर हुने कुरा छैन,’ उनले भने, ‘गणतन्त्र हट्नेवाला छैन। कसैले आशा नगरे हुन्छ।’

पूर्वप्रधानमन्त्री देउवाले अहिलेको संविधानमा हिमाल, पहाड, तराईका सबै जनता अटेकोे, समावेशी–समानुपातिक प्रतिनिधित्व रहेको भन्दै यस्तो व्यवस्था हट्न नसक्ने दाबी गरे। बिपी कोइरालाले जनतालाई अधिकार सम्पन्न बनाउने अठोट गर्दै आन्दोलन अघि बढाएको बताएका देउवाले सो आन्दोलनमा गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइरालालगायत सबै लडेर नेपालमा अहिलेको व्यवस्था ल्याएको उनले बताए। कांग्रेसका युवा नेताहरूले पनि गणतन्त्रमाथिको हमला सह्य नभएको बताउँदै आएका छन्।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्कन नसक्ने बताए। एमालेका सबैजसो नेताले गणतन्त्रको पक्षमा आफ्नो मत जाहेर गर्दै आएका छन्। बिहीबार मात्रै ओलीले महिला उद्यमी महासंघको व्यापार मेलामा लोकतन्त्रकै कारण महिलाहरूले अधिकार पाएको बताएका थिए। त्यति मात्र होइन, उनले ज्ञानेन्द्र घर फर्किएको कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए।

‘२०६५ सालमा ज्ञानेन्द्र शाहजी घर जानुभयो। ठिकै हो नि त, हामी दुईचार महिनामा दुई चार महिनामा घर फर्किने गरेका छौं। उहाँहरू त दुई सय ५० वर्षपछि घर फर्किनुभएको छ। ठुलो कुरै भएन नि। अहिले यति वर्षपछि फेरि पोखराबाट आउनुभयो अरे ! कहाँको दरबार लान्छु भनेको हो !’ उनले भनेका थिए।

प्रधानमन्त्री ओलीले यस्तो बेलामा जनतालाई सन्तुष्ट बनाएर अघि बढ्नुपर्ने बताएका छन्। ‘यस्ता खालका कुराहरूमा अब नेपाली अल्झिने होइन, यस्तै कुराहरूबाट जनतामा असन्तुष्टि बढ्छ। जनतालाई असन्तुष्ट बनाउने होइन, जनतालाई सन्तुष्ट बनाएर जाने बाटो हामीले लिनुपर्छ। अनि काम हुन नदिने, असन्तुष्टि बढाउने र अरू प्रकारका असन्तुष्टि बढाउनेभन्दा हामीले जनतालाई काममार्फत सेवा दिन सक्नुपर्छ,’ ओलीले भनेका छन्।

यसका साथै गणतन्त्रवादीहरूको एउटा मोर्चा र राजावादीहरूको एउटा समूहले शुक्रबार राजधानीका छुट्टछुट्टै स्थानमा प्रदर्शनसमेत गर्दै छन्। काठमाडौंको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागिपरेका पूर्वराजा समर्थकले प्रदर्शन गर्न लागेका हुन्। समाजवादी मोर्चामा आबद्ध माओवादी केन्द्र, नेकपा एस, नेपाल समाजवादी पार्टी (नेसपा) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन्।

उनीहरूले आफ्नो रुट पनि तय गरिसकेका छन्। दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन्। नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको आकलन गरिएको छ। सुवेदी नेतृत्वको समूहले प्रदर्शन स्थलबारे सार्वजनिक नगरेको हुनाले प्रसाईंसँगै मिसिएर शक्ति प्रदर्शन गर्न लागेको आकलन गरिएको हो।

निगरानीमा राजावादी, भद्रकालीमा कमान्ड पोस्ट

लोकतान्त्रिक व्यवस्थालाई चुनौती दिइरहेको राजावादी समूहले निरन्तर प्रदर्शन गर्न थालेपछि उनीहरूमाथि कडा निगरानी राखिएको छ। उच्छृंखल गतिविधि गर्न सक्ने अनुमानका कारण उनीहरूमाथि कडा निगरानी राखिएको हो। गणतन्त्र पक्षधहरूले शुक्रबार काठमाडौंमा आम सभा गर्ने भएका छन्।

गणतन्त्रविरोधी आन्दोलन चर्काउने तयारीमा रहेका राजावदी समूहले शुक्रबार नै अर्को प्रदर्शन र सभा गर्दै छन्। दुवै समूहको सभा एकै दिन परेको छ। एउटा समूहले भृकुटीमण्डप र अर्को समूहले तीनकुनेमा सभा गर्ने भएका हुन्। गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकसहित अधिकारीहरू बसेर सुरक्षा वस्तुस्थितिबारे विश्लेषण गरिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयले नै दुवैलाई अलगअलग स्थानबाट प्रदर्शन गर्न अलगअलग स्थानमा सभा गर्न निर्देशन दिएको छ।

जिल्ला सुरक्षा समितिले पनि त्यहीअनुसार सुरक्षा योजना बनाइसकेको छ। सुरक्षा योजनाअनुसार राजावादीका गतिविधिलाई निगरानीमा राखेको हो। दुवै समूहलाई कतै पनि भेट हुने र मुठभेड अवस्था आउन नदिने गरी सुरक्षाकर्मी परिचालन हुँदै छन्। लोकतन्त्रको रक्षाका लागि जनतालाई सचेत गराउने उद्देश्यसहित नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चाले सभाको आयोजना गर्दै छ। मोर्चाले जुलुस निकाल्ने, भेला हुने स्थान पनि तय गरी सार्वजनिक गरिसकेको छ।

उता राजावादी नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्पर्क गरेका छन्। शुक्रबार हुने प्रदर्शनको पूर्वसन्ध्यामा निर्मल निवासमा पुगेर ज्ञानेन्द्रसँग नवराज सुवेदी र दुर्गा प्रसाईले भेटघाट गरेका हुन्। त्यसपछि उनीहरूले पत्रकार सम्मेलन गरेका थिए। पूर्वराजासँगको भेटघाटको विषयलाई उनीहरूले बाहिर ल्याएका छैनन्। एक सुरक्षाकर्मीले दिएको जानकारीअनुसार उनीहरूले निर्मल निवासमा पूर्वराजासँग भेटघाट गरेपछि प्रदर्शन चर्को हुने आकलन गरिरहेको र समाजवादी मोर्चासँग उनीहरूको जुलुस भेट भए मुठभेड हुने सम्भावना छ।

‘दुवै पक्ष अलि आक्रामक हुने खतरा रहेकाले दुवै पक्षको जुलुसलाई भेट हुन नदिने गरी सुरक्षाकर्मी परिचालन हुँदै छन्,’ सुरक्षा समितिका एक अधिकारीले भने। सो समितिका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी करिब ६ हजार सुरक्षाकर्मी खटिनेछन्।

काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषि तिवारीले शुक्रबारको प्रदशन शान्तिपूर्ण हुने विश्वास व्यक्त गरे। उनले कानुनअनुसार सुरक्षाकर्मी परिचालन हुने दाबी पनि गरे। नेपाल प्रहरीले पनि शन्ति सुरक्षा कायम गराउन करिब तीन हजार प्रहरी परिचालन गर्ने भएको छ।

दुवै पक्षको रुटलाई क्लियर गर्ने र उनीहरू आपसमा भेटघाट हुन नदिने गरी सुरक्षाकर्मी खटाउने तयारी भएको नेपाल प्रहरीको भनाइ छ। ‘शुक्रबार हुने दुवै पक्षको प्रदर्शनमा नेपाल प्रहरीले विशेष ध्यान दिएको छ। शान्तिसुरक्षा कायम राख्न कानुनबमोजिम नै प्रहरीहरू खटिनेछन्, अपाच्य क्रियाकलाप, जथाभाबी प्रदर्शन नगर्न नेपाल प्रहरीले सबैलाई आग्रह गरेको छ,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी दिनेश आचार्यले भने।

यसैगरी सशस्त्र प्रहरीले शुक्रबारको प्रर्दशनलाई लक्षित गरेर ५० प्लाटुन (करिब २ हजार) जनशक्ति परिचालन हुनेछन्। सशस्त्र प्रहरीका डिआइजी कुमार न्यौपानेका अनुसार दुवै पक्षलाई एक अर्कामा भेटघाट हुन नदिने गरी सुरक्षाकर्मीहरू परिचालन हुनेछन्। उनले शुक्रबारको प्रदर्शन शान्तिपूर्ण हुने अपेक्षासमेत गरेका छन्।

‘शान्ति सुरक्षा कामय राख्न कानुनले दिएको अधिकार प्रयोग हुनेछ। सुरक्षाकर्मीहरूले दुवै पक्षको प्रदर्शन र सभा शान्तिपूर्ण हुने अपेक्षा गरेका छन्,’ सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी न्यौपानेले भने। सुरक्षालाई ध्यान दिएर राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू पनि खटिने भएका छन्।

यसैगरी ट्राफिक व्यवस्थापनका लागि करिब सात सय ट्राफिक प्रहरी खटिनेछन्। सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ। प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ।

सुरक्षा कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन्। प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिनेछन्। आवश्यकता अनुसार एसएसपी अधिकारीले कमान्ड सेन्टर र फिल्डमा नै गएर सुरक्षा व्यवस्थापन गर्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए। ‘एसएसपीको कमान्डमा आवश्यक सुरक्षाकर्मी परिचालन हुनेछ,’ उनले भने।

सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ। कमान्ड सेन्टरबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्नेछन्।

प्रकाशित: १५ चैत्र २०८१ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App