उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई सही दिशामा लैजान गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताएका छन्।
बुधबार नेपाली कांग्रेसको शिक्षा विभागले आयोजना गरेको ‘शिक्षा नीति बहस’ अन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधिको सरोकार’ विषयक छलफलमा बोल्दै उनले समाजको आधार नै शिक्षा भएको धारणा राखे। राम्रो शिक्षा प्रदान गर्न सके समाजमा जिम्मेवार र असल नागरिक तयार हुने उनको भनाइ छ। शिक्षाले नै समाजमा परिवर्तन ल्याउने उनको तर्क छ।
उनले नेपालमा शिक्षाको लहर ०७ सालको क्रान्तिपछि सुरु भएको उल्लेख गर्दै अब समयअनुकूल शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए। अहिले शिक्षाको धेरै जिम्मेवारी स्थानीय तहमा रहेको भन्दै उनले शिक्षा विधेयकलाई प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने बताए।
कार्यक्रममा नगर प्रमुख र उपप्रमुखहरूले शिक्षा विधेयकबारे पालिकाको धारणा र सुझाव राखेका थिए। विभागका प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख र उपप्रमुखका सुझाव पार्टीलाई उपलब्ध गराउने जानकारी दिए। ‘शिक्षा विधेयकमा उनीहरूको सुझाव समेट्न विभागले यो छलफल आयोजना गरेको जानकारी दिए।
प्रकाशित: १३ चैत्र २०८१ १२:५९ बुधबार