२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml १५:५४ अपराह्न
राजनीति

कुलमानको निर्णयमा सरकारका प्रवक्ता गुरुङको त्यो झुट...

चैत ११ गते साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्‍यो।

बैठकबाट मन्त्रीहरू नबाहिरिँदै घिसिङ बर्खास्त गरिएको समाचार छ्यापछ्याप्ती भइसकको थियो। बैठकस्थल (सिंहदरबार) बाहिर पत्रकारहरूले कुरिरहेका थिए।

यतिकैमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ बाहिरिए। सरकारका प्रवक्ता हुनुको नाताले पनि पत्रकारहरूले उनैलाई घिसिङको बर्खास्तबारे प्रश्न तेर्स्याए- कुलमान घिसिङलाई बर्खास्त गरिएको भन्ने समाचार छ नि ?

तर, प्रवक्ता गुरुङले जवाफ दिनुको साटो उल्टो प्रतिप्रश्न गरे- कसले भनेको ? कुलमान घिसिङले भनेको ?

पत्रकारहरूले भने- समाचार आइसकेको छ, स्रोतहरूले उल्लेख गरेका छन्।

यसपछि प्रवक्ता गुरुङ 'खै सरकारलाई त थाहा छैन' भनेर हिँडे।

जबकि, भित्र घिसिङ बर्खास्त गर्ने निर्णय उनी सम्मिलित मन्त्रिपरिषद्ले गरिसकेको थियो। तर, उनले सफेद झुट बोलेर त्यहाँबाट हिँडे।

यसपछिउनको एक तहमा आलोचनासमेत भयो। खासगरी पत्रकारहरूले सरकारका प्रवक्ताको शैलीको आलोचना गरे।

तर, मङ्गलबार (आज) मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा भने उनले सही जानकारी दिए। "नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय पनि भा'छ,"निर्णय सार्वजनिक गर्ने क्रममा उनले भने।

त्यसो त सरकारका प्रवक्ताको मुख्य काम सही सूचना आदानप्रदान गरेर सरकार र जनताका बीचमा सेतुको काम गर्नु हो, सरकारका आधिकारिक धारणा तथा निर्णयहरू सार्वजनिक गर्नु हो। तर, गुरुङ भने 'ढँटुवा' भूमिकामा देखिए।

प्रकाशित: १२ चैत्र २०८१ १८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App