नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारदकुमार लुइँटेल नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेप्सेको नयाँ सीईओ छनोटका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले प्रारम्भिक चरणमा पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो।
समितिले नारदकुमार लुइँटेलसँगै चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई अन्तिम चरणको प्रतिस्पर्धामा समेटेको थियो।
पाँचै जनाले बुधबार अर्थ मन्त्रालयमा व्यक्तिगत अन्तर्वार्ता दिँदै आ-आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। कार्ययोजना र अन्तर्वार्ताको आधारमा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले लुइँटेलको नाममा टुंगो लगाएको हो।
यसअघिको प्रक्रिया अनुसार अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थ मन्त्रालयकै सहसचिव अमृत लम्साल र विज्ञ सदस्य खोमराज खरेल थिए।
नेप्सेमा तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ मा सकिएपछि पद खाली रहँदै आएको थियो। अब लुइँटेलले नेप्सेको सीईओको जिम्मेवारी सम्हाल्ने भएका छन्।
प्रकाशित: ११ चैत्र २०८१ २०:५८ सोमबार