१४ चैत्र २०८१ बिहीबार
image/svg+xml १०:३० पूर्वाह्न
राजनीति

निर्माण व्यवसायी ऐन कार्यान्वयन गराउन सक्दो पहल गर्छु: देउवा

<br>

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पार्टी निकट निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्माण उद्योग मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो योगदान दिने क्षेत्र भएकाले यसको प्रवर्द्धनमा ध्यान दिनुपर्ने बताए।

उनका अनुसार, निर्माण क्षेत्रमा २५ लाखभन्दा बढीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी दिइरहेको छ, तर व्यवसायीहरूले भुक्तानीमा समस्या, निर्माण सामग्रीको मूल्यवृद्धि तथा व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरणको अभाव झेल्नुपरिरहेको छ।

‘’निर्माण व्यवसायी ऐन, कानून तथा नियमावली तर्जुमा गर्न मेरो तर्फबाट सक्दो पहल हुनेछ। भुक्तानी समस्या, सामग्रीको मूल्यवृद्धि तथा अन्य चुनौती समाधान गर्न सरकार गम्भीर हुनुपर्छ,’’ देउवाले भने, ‘’योजनाहरू समयमा र तोकिएको बजेटभित्र सम्पन्न नहुनु मुख्य समस्या हो। यसका लागि व्यवसायीहरूको प्रयास मात्र पर्याप्त छैन, सरकारले पनि प्राथमिकता दिनुपर्छ।’’

उनले नेपालका निर्माण व्यवसायीहरूले मुलुकभित्र मात्र नभई विदेशमा समेत उत्कृष्ट काम गरिरहेको उल्लेख गर्दै सुरुङ मार्ग, रेल सेवा, जलविद्युत् जस्ता पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए।

सभापति देउवाले अर्थतन्त्रलाई गतिशील बनाउन सबै पक्षले आ–आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताउँदै निर्माण व्यवसायीहरूलाई प्रविधिमैत्री बन्न आग्रह गरे।

प्रकाशित: ११ चैत्र २०८१ १६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App