माओवादी केन्द्र र जसपा नेपालले मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्। यसकै कारण आइतबार (आज) बसेको बैठक बस्न सकेन।
बैठक सुरु हुनासाथ माओवादी संसदीय दलका नेता भरत प्रसाद साहले बैठक चल्न नदिने चेतावनी दिए।
उनले मुख्यमन्त्री कूटनीतिक मर्यादाविपरीत विदेश गएको, कमिशन लिएर पालिकालाई सशर्त बजेट दिने गरेको, सङ्घका कर्मचारीसँग मोटो रकम लिएर जिम्मेवारी दिने गरेकोलगायतका आरोपमाथि मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गरे।
यस्तै जसपा नेपालका संसदीय दलका नेता सरोज कुमार यादवले जिल्लास्थित कार्यालयको योजनाहरू मन्त्रीको सचिवालयबाट वितरण हुने गरेको आरोप लगाए।
'प्रदेशसभा सदस्यहरूले डेढ करोड र ५ करोडको योजना पाए कि पाएनन् भन्ने विषय पनि छ। यसका लागि संसदीय छानबिन समिति बनाउनुपर्छ,' उनले भने।
बैठक अवरुद्ध भएपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरे।
प्रकाशित: १० चैत्र २०८१ १९:५२ आइतबार