स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पूर्वविशिष्ट व्यक्तिहरूलाई सुविधा दिन नहुने बताएका छन्।
नेपाली कांग्रेस बाँकेले शनिबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले राज्यले पूर्वविशिष्टहरूलाई मानसम्मान गर्नुपर्ने तर सुविधा दिन नहुने धारणा राखे।
उनले नेपालगञ्ज मेडिकल कलेजका समस्याहरू कलेज प्रशासनले आफैं समाधान गर्नुपर्नेमा जोड दिए। “मेडिकल कलेज नीति र नियमअनुसार चल्नुपर्छ र राज्यले तोकेका सबै मापदण्ड पालना गर्नुपर्छ,” उनले भने।
मन्त्री पौडेलले सरकारी, निजी वा सामुदायिक अस्पतालहरूले दक्ष जनशक्तिलाई श्रम ऐनअनुसार तलब नदिए सम्बन्धन खारेज गरिने चेतावनी दिए।
उनले औषधिको मूल्य समायोजनका लागि काम भइरहेको जानकारी दिँदै राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्ने नीति अघि बढाइने उल्लेख गरे।
उनले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणमा सरकारले ठूलो लगानी गरेको उल्लेख गर्दै ती अस्पतालहरू पूर्ण क्षमतामा सञ्चालन हुने बताए।
स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने सरकारी योजनाअनुसार ६६ लाख घरपरिवारलाई बिमा योजनामा जोड्ने लक्ष्य रहेको उनले सुनाए।
प्रकाशित: ९ चैत्र २०८१ १५:३७ शनिबार