नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलित भएकै कारण जातीय पीडा दिनु अत्यन्त दुःखद र निन्दनीय भएको बताएका छन्।
जातीय विभेद उन्मुलन दिवसका अवसरमा शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो बताएका हुन्। उनले लेखेका छन्, 'देशले राजनीतिक रूपमा ठुलो फड्को मारिसक्दा पनि महायज्ञ वा अरू कुनै बहानामा दलित भएकै कारण घर भत्काइनु वा जातीय पीडा दिनु अत्यन्त दुःखद र निन्दनीय छ।'
नेता कोइरालाले जबसम्म यस्ता कृयाकलाप गर्नेहरू राजनीतिक रूपमा संरक्षित भएका कारण दण्डित हुँदैनन्, तबसम्म यस्ता घटनाहरू भइरहने जिकिर गरे। उनले सिराहा घटनाका दोषीलाई कारबाही गर्न ढिला नगर्न समेत आग्रह गरे। उनले भने, 'जबसम्म यस्ता कृयाकलाप गर्नेहरू राजनीतिक रूपमा संरक्षित भएका कारण दण्डित हुँदैनन्, तबसम्म यस्ता घटनाहरू भइरहन्छन्। सिराहा घटनाका दोषीलाई कारबाही गर्न ढिला नगरौँ।'
सिराहाको औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएको खबर बाहिर आएपछि यसको चौतर्फी निन्दा भएको छ। साथै छानबिन समिति गठन गर्न माग गरिएको छ।
प्रकाशित: ८ चैत्र २०८१ ०९:५५ शुक्रबार